
पछिल्लो समय नेपाली फिल्मको रोमान्टिक गीत छायांकनका लागि सबैभन्दा आकर्षक थलो मनाङको तिलिचो ताल बनेको छ । कठिनपूर्ण सडक र पैदल यात्राका बावजूद पनि ठूलो खर्च गरेर धेरै फिल्मको गीत त्यहाँ खिचिएको छ । फिल्म ‘ए मेरो हजुर २’को ‘कसम हो कसम’ गीतपछि तिलिचो तालमा गीत खिच्नेको मात्र संख्या बढेको छैन, पर्यटकहरुको आकर्षक गन्तव्य पनि बनेको छ ।
भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कृष्ण लीला’को एक गीत पनि तिलिचो ताल र त्यसमाथिको क्षेत्रमा खिचिएको छ । गत चैतमा खिचिएको ‘ए मेरो हजुर’ बोलको गीत असार १० गते सार्वजनिक हुँदैछ । आइतवार निर्माण टिमले सार्वजनिक गरेको गीतका केही तस्विरहरुमा पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर छन् भने पृष्ठभूमिमा तिलिचो तालको पानी जमेर हिउँ बनेको देखिन्छ ।
निर्देशक दीपक वलीले समुद्र सतहबाट ४ हजार ९ सय १९ मिटर उचाईमा रहेको तिलिचो तालसँगै त्यसमाथिको ५ हजार १ सय ५० मिटरको उचाईंमा गीतको छायांकन भएको जानकारी दिए । तिलिचो ताल पुग्नका लागि टिमका केही सदस्यले अक्सिजन समेत बोकेको उनको भनाई छ । माइकल चन्दको कोरियोग्राफी रहेको गीतले फिल्मको हाइप बढाउनेमा निर्देशक वली विश्वस्त छन् ।

फिल्ममा पुष्प र श्रद्धाका अलावा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई लगायतको पनि अभिनय रहेको छ । रोहित कट्टेल प्रस्तुतकर्ता र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ ।

