Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सम्झना बिर्सना’ गीत रिलिज, पूजा र आकाशको आकर्षक नृत्य

फिल्मीखबर, काठमाडौं, 2022/06/19
 POOJA SHARMA, AAKASH SHRESTHA
 
यही असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको लभस्टोरी फिल्म ‘सम्झना बिर्सना’को नयाँ गीत सार्वजनिक भएको छ । गत हप्ता छायांकन भएको ‘हाँस्ने खेल्ने बेलैमा’ बोलको गीत शनिवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने अञ्जु पन्त र किरण गजमेरले स्वर दिएका छन् । गीत डान्सिङ प्याटनको छ । 
 
रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा फिल्मका मुख्य अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माले आकर्षक नृत्य गरेका छन् । भिडियोमा उनीहरुको केमेस्ट्री जमेको छ । शिव ढकालले खिचेको गीतलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् । निमेष प्रधान निर्देशित फिल्ममा पूजा र आकाशसँगै सुनील थापा, छुल्ठिम गुरुङ, शिशिर राणालगायतको पनि अभिनय रहेको छ ।
 
आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेको फिल्ममा निर्देशक निमेषकै कथा तथा पटकथा रहेको छ भने संवाद लेखनमा उनलाई शिशिर राणाले सघाएका छन् । दार्जिलिङ, सिलगुडी र सिक्किमका विभिन्न स्थानहरुमा फिल्मको छायांकन भएको हो । फिल्ममा राजन इशान र सुदर्शन तामाङको संगीत, रामजीसँगै कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’को सम्पादन छ ।
 
‘हाँस्ने खेल्ने बेलैमा’ गीत छायांकनको समयमा पूजा र आकाशबीच बोलचाल नभएको भन्ने विषयमा फिल्मीखबरमा प्रकाशित गसिपबारे दुवैले स्पष्टिकरण दिएका छन् । पूजाले आकाशसँग सम्बन्ध सकिने समय नै नआउने जिकिर गरिन् । आकाशसँग धेरै प्रोजेक्टमा काम गरेकाले साथ र सहयोग सधैं हुने उनको भनाई छ । आकाशले पनि पूजासँगको मित्रता सधैं कायम रहने बताए ।