Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा १२ देशका ३८ फिल्म प्रदर्शन हुने

फिल्मीखबर, काठमाडौं, 2022/06/18
naiff
 
अमेरिकाको म्यारिल्यान्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’को नयाँ संस्करण यही जुन २३ देखि २६ सम्म (असार ९ गतेदेखि १२ गतेसम्म) भौतिक र अनलाइन (भर्चुअल) बाट हुने भएको छ । महोत्सवमा नेपाल र अमेरिकालगायत विश्वका १२ देशका ३८ वटा फिचर तथा सर्ट फिल्महरु प्रदर्शन हुने आयोजक संस्थाले जनाएको छ ।
 
मेरिल्यान्डको पुरानो ग्रिन्बेल्ट थिएटरमा विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्करा’को प्रदर्शन गर्दै महोत्सवको उद्घाटन हुनेछ । समापनमा निर्देशक माइकल ब्राउनको वृत्तचित्र ‘वृक म्युलु’र एरिक स्पिंकको लघु फिल्म ‘द लिप रिडर’ प्रदर्शन गरिनेछ । महोत्सवमा प्रदर्शन हुने फिल्महरु स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टिभीमा इवेनटिभ एपमार्फत हेर्न सकिनेछ ।
 
विगतका वर्षहरु जस्तै ग्लोबल पिस फिल्म फेस्टिभलको सहकार्यमा दुईवटा फिल्म प्रदर्शन हुनेछन् । महोत्सवमा प्रदर्शन भएका फिल्मबारे दर्शक र फिल्मको टिमसँग छलफल कार्यक्रम हुनेछ भने निर्देशक अविनाश विक्रम शाह र अभिनेत्री सुरक्षा पन्तले ‘भर्चुअल’ संवादमा आफ्नो अनुभव बाँड्नेछन् । प्रतिस्पर्धामा छानिएका उत्कृष्ट फिल्महरुलाई महोत्सवमा पुरस्कृत पनि गरिनेछ ।
 
आयोजक संस्था नेपाल अमेरिका फिल्म सोसाइटीले महोत्सवका लागि ७ जनाको निर्णायक मण्डल घोषणा गरेको छ । नेपालबाट अनुप सुवेदी ,अमेरिकाबाट रिबेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयर र पोर्सिया कोब जुरीमा छन् । महोत्सवमा आवेदन परेका फिल्महरुलाई फिल्म सोसाइटीको छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको हो ।