Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

ऐतिहासिक फिल्म ‘नालापानी’ कात्तिक ४ मा प्रदर्शन हुने

फिल्मीखबर, काठमाडौं, 2022/06/17
ऐतिहासिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘नालापानी’को प्रदर्शन मिति घोषणा गरिएको छ । तिहारको अवसर पारेर आगामी कात्तिक ४ गतेलाई फिल्मको प्रदर्शन मिति तोकिएको हो । शुक्रवार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको फिल्मलाई रिमेश अधिकारीले निर्देशन गरेका हुन् । यो फिल्मले चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाएको थियो । 
 
सन् १८१४ मा भारतको देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो फिल्म निर्माण भएको हो । वीर योद्धा कुँवर र उनका सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरालाई जीवन्त रुपमा देखाइएको निर्देशक अधिकारीले बताए । 
 
nalapani poster
 
फिल्मको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । प्रा. डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित रहेर इतिहासविदहरू प्रा. डा. धनराज कुँवर, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा.डा. सुरेन्द्र के.सी., पूर्व सहायक रथि डा. प्रेम सिंह बस्न्यातहरूसँग छलफल गरी नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’ लगायतका पुस्तकमा आधारित रही ‘नालापानी’ तयार भएको हो ।  
 
फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ । 
 
रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस्, गंगा नारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा भिएफएक्स अच्युत गजुरेल, छायांकन राम शरण उप्रेती, सम्पादन बिपिन मल्ल, द्वन्दव् निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशन कबिराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ । 
 
राम भट्टराई र हरि उप्रेतीले रचना गरेका फिल्मका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर रहेको छ । ‘नालापानी’का एशोसियट निर्माता सपन कुमार थापा, सह निर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन् ।