
सुपरहिरोमा आधारित ‘शक्तिमान’ ९० को दशकमा बच्चाहरुको सबैभन्दा फेभरेट र चर्चित शो थियो । डीडी नेशनलमा सन् १९९७ मा सुरु भएको यो शो हेरेर एउटा पुस्ता नै हुर्कियो । ९० को दशकको बच्चाका लागि यो एक ड्रामा मात्र थिएन, यसमा उनीहरुको इमोसन्स पनि जोडिएको थियो । अब १७ वर्षपछि ‘शक्तिमान’लाई फेरि एकपटक हेर्न पाइने भएको छ तर, फिल्मको स्वरुपमा ।
शोमा ‘शक्तिमान’को चरित्र निर्वाह गरेका मुकेश खन्नाले ‘सोनी पिक्चर्स इन्टरनेशनल’सँग मिलेर फिल्म बनाउन लागेका हुन् । हालै उनले फिल्मको बजेटबारे खुलासा गर्दै भनेका छन्, ‘यो प्रोजेक्ट वर्षौंपछि मेरो पासमा आएको हो । मानिसहरु मलाई ‘शक्तिमान २’ बनाउन आग्रह गर्छन् । तर, मैले यो शो टिभीमा ल्याउन चाहन्नँ र फिल्म बनाउने घोषणा गरेँ । यो फिल्म ३ सय करोडमा बन्नेछ ।’
‘शक्तिमान’ निर्माण हुन समय लाग्ने पनि खन्नाले जानकारी दिए । एक स्वदेशी कन्सेप्टमा फिल्म बन्ने बताउँदै उनले अगाडि भनेका छन्, ‘यो फिल्म ‘स्पाइडर-म्यान’को निर्माताले बनाउने भए पनि ‘शक्तिमान’ स्वदेशी कथामा निर्माण हुनेछ । मैले फिल्मको कहानी आफ्नो तरिकाबाट तयार गरेको छु । फिल्मको कहानी परिवर्तन नगर्ने सर्तमा म ‘सोनी पिक्चर्स इन्टरनेशनल’सँग जोडिएको हुँ ।’
मानिसहरुले शक्तिमान को बन्छ भनेर सोधिरहेको भएपनि आफू विना ‘शक्तिमान’ सम्भव नभएको उनको भनाई छ । यदी कसैले शक्तिमानको भूमिका निर्वाह गरे त्यो पुरै देशका जनतालाई स्वीकार नहुने पनि उनले बताएका छन् । ‘शक्तिमान’ शोलाई मुकेश आफैंले निर्माण गरेका थिए । यो शोले उनलाई दर्शकमाझ चिनाएको थियो र अहिलेसम्म उनले यसै शोको ब्याज खाइरहेका छन् ।

