Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पानीफोटो’ टिजरमा हराएको छोरा खोज्न हिँडेका दम्पतिको कथा

फिल्मीखबर, काठमाडौं, 2022/06/16
Menuka Pradhan, Anup Baral
 
अभिनेता खगेन्द्र लामिछाने निर्देशित पहिलो फिल्म ‘पानीफोटो’को टिजर सार्वजनिक भएको छ । बिहीवार यूट्युबमा सार्वजनिक भएको १ मिनेट ३१ सेकेन्ड लम्बाईको टिजरमा माओवादी जनयुद्धकालमा हराएको छोरा खोज्न हिँडेका एक दम्पतिको निराशा, पीडा, तनाव, दुःख, थकानलाई देखाइएको छ । टिजरमा अनुप बराल र मेनुका प्रधानको अभिनय र भिन्न गेटअपले मन पगाल्छ ।
 
आगामी साउन १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा अनुप र मेनुकाका अलावा खगेन्द्र लामिछाने, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्क्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरीलगायतको पनि अभिनय रहेको छ । 
 
माओवादी जनयुद्धको समयमा डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा-आमाको कथालाई प्रस्तुत गरिएको फिल्मको काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्गजामा छायांकन भएको हो । फिल्मलाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् । त्यस्तै, फिल्ममा घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन, निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत रहेको छ । 
 
टुकी आर्ट्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको फिल्मको कथा खगेन्द्र स्वयंको हो । रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा फिल्मको निर्माण गरेका हुन् । करीब डेढ दशकअघि गुरुकुलमा ‘पानीफोटो’ नाटक मञ्चन भएको थियो । त्यही नाटकलाई खगेन्द्रले फिल्मको स्वरुपमा ढालेका हुन् । उनले फिल्म निर्देशन गर्ने आफ्नो ठूलो सपना पूरा भएकोमा खुशी व्यक्त गरेका छन् ।