
कोरोना महामारीभन्दा अगावै निर्माण भएको अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनीत फिल्म ‘सम्हालिन्छ कहिले मन’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि तीन पटक प्रदर्शन मिति तोकेर पनि प्रदर्शन हुन नसकेको फिल्म अब आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । यही शुक्रवार एक गीत सार्वजनिक गर्ने तयारीमा निर्माण टिम जुटेको छ ।
भदौ १७ गतेलाई प्रदर्शन मिति तोक्नुअघि निर्माण टिमको आँखा भदौ १० गते थियो । तर, यो मितिमा दुई फिल्म ‘प्रकाश’ र ‘दि सेक्रेट्स अफ राधा’ प्रदर्शनमा आउने निश्चित भइसकेका कारण ‘सम्हालिन्छ कहिले मन’लाई एक हप्ता पछि प्रदर्शन गर्न लागिएको हो । त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्मको बेलायतमा करीब ४५ दिनसम्म छायांकन भएको थियो ।
एबी इन्टरनेशलको ब्यानरमा निर्मित यस फिल्ममा पूजा र आकाशका अलावा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । यो फिल्मबाट नायकको रुपमा सोनम तोप्देनले डेब्यू गरेका छन् । भारतीय मुलका उनी गायक समेत हुन् । उनी तिब्बतमा बस्ने गर्दछन् । सौरभ लामाको छायांकन रहेको फिल्मको कथा महेश दवाडीले लेखेका हुन् ।
अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मको निर्मातामा अमित बस्नेत, सह-निर्मातामा परी राना र अजितकुमार थापा र कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम छन् । सुदर्शन थापाले फिल्मको निर्देशन गरेका हुन् । उनले लभस्टोरी फिल्म निर्देशनमा आफूलाई स्थापित गरिसकेकाले यो फिल्मप्रति दर्शकमा अपेक्षा उच्च छ ।

