
विवाहभन्दा अगाडिसम्म अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीलाई फिल्मको खासै कमी थिएन । फिल्महरु असफल भइरहे पनि उनीहरुप्रति निर्माताको विश्वास कायम थियो । अफेयरमा रहँदा उनीहरुले आफूलाई अफर भएको फिल्म एकअर्कालाई सिफारिस समेत गरे । तर, बिहे भएर छोरीको माता-पिता भएपछि दुवै यूट्युबका लागि कन्टेन्ट बनाउन व्यस्त छन् ।
प्रियंकाले विवाहभन्दा अगाडि नै काम गरेको फिल्म ‘लक्का जवान’ गत बैशाख २३ गते प्रदर्शनमा आएको थियो । तर, यो फिल्मले हलमा पानी माग्न पाएन । कुनै बेला नम्बर वान अभिनेत्रीको दौडमा रहेकी उनी यतिबेला आफ्नो खस्किँदो स्टारडमलाई उठाउने एउटा बलियो फिल्मको खोजीमा छिन् । तर, विवाहपछि उनलाई लिएर फिल्म बनाउन निर्माता-निर्देशकले रुची देखाएका छैनन् ।
उता, आयुष्मान फिल्म कुरेर बसेको तीन वर्ष बढी भइसकेको छ । २०७६ सालको असारमा रिलिज भएको फिल्म ‘प्रेम दिवस’पछि उनलाई नयाँ फिल्मबाट अफर भएको वा फिल्म साइन गरेको जानकारीमा छैन । डेब्यू फिल्म ‘चपली हाइट २’पछि करीब आधा दर्जन फिल्ममा अभिनय गरेका आयुष्मान अब श्रीमती प्रियंका कार्कीसँग मिलेर फिल्म निर्माण गर्ने तयारीमा रहेको बुझिएको छ ।
यस्तैमा, प्रियंका र आयुष्मान सिरियलतिर लागेका छन् । सोमवारबाट छायांकन सुरु भएको ‘साहु बा’ सिरियलमा प्रियंकाको मुख्य भूमिका छ भने आयुष्मान फोटोग्राफी निर्देशकको रुपमा छन् । फिल्मका कलाकार सिरियलमा झर्नुलाई करिअर खस्किएको रुपमा अर्थ्याइने गरिन्छ । सिरियलमा काम गर्नु प्रियंका र आयुष्मानको रोजाई थियो वा बाध्यता, त्यो भने उनीहरु नै जान्दछन् ।

