.jpg)
गत जेठ १३ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’ विभिन्न विवादमा पर्दै आएको छ । रिलिजको केही दिनमै अभिनेत्री मिरुना मगरलाई एक बौद्ध भिक्षुले सिनेमा हलमा ‘ब्याड टच’ गरेको घटनाले ठूलो रुप लियो । यसैक्रममा, फिल्ममा केटी नपाएर नायकलाई बौद्ध भिक्षु बनेको देखाइएकोप्रति आपत्ति जनाउँदै एक व्यक्तिले काठमाडौं जिल्ला प्रशासनमा उजुरी दिएका छन् ।
चलचित्र जाँच समिति र सूचना मन्त्रालयलाई विपक्ष बनाएर रोविन कुमार लामाले दिएको उजुरीमा ‘कबड्डी ४’को प्रदर्शन तत्काल रोकेर दृश्य र शब्द काँटछाँट गर्न माग गरिएको छ । फिल्मको मूल कथावस्तु र प्रस्तुतिका दृश्यहरुले बौद्ध धर्मावलम्बी लामा भिक्षु वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मान मर्यादामा गम्भीर हानी नोक्सानी पुर्याएको लामाले दिएको उजुरी पत्रमा उल्लेख छ ।
उजुरीमा भनिएको छ, ‘फिल्मको कथामा केटी अकैले भगाएपछि काजीले विवाह गर्न सम्भव नभएर निरासापनले लामा भिक्षु बनेको देखिन्छ । वास्तवमा लामा भिक्षु निराश भएर होइन, वैराग भएर बन्ने गरिन्छ । अर्थात् केटी नपाएर मन दुखाएर लामा (भिक्षु) बन्न जाने होइन वैराग जागेर लामा (भिक्षु) बन्ने हो । लामा बनेर मान्छे कुटेर हिंसा गर्ने बौद्ध धर्म सिद्धान्त मान्यता विपरित कार्य हो ।’
सनातन बौद्ध सभ्यता संस्कृति र परम्परा विपरित बिहे गर्ने सबै योजनाहरु असफल भएपछि भिक्षु बन्न बाध्य भईन्छ भन्ने फिल्मको मुख्य कथावस्तुले बौद्ध सम्प्रदाय तथा लामा (भिक्षु) वर्गहरुप्रति नकारात्मक असर परेको र बौद्ध धर्मको उद्देश्य नै परिवर्तन हुने वातावरण श्रृजना गर्न खोजिएको उजुरीमा उल्लेख छ । फिल्ममा दयाहाङ राई वैराग्य जागेर बौद्ध भिक्षु बनेको दृश्य समावेश छ ।





