Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूजा र आकाशको धमिलिएको सम्बन्ध : सुटिङ सँगै तर अपरिचित व्यवहार

फिल्मीखबर, मनिष अन्जान, 2022/06/13
प्रायः चहलपहल हुने क्षेत्र हो, भक्तपुरको दरवार स्क्वायर । आन्तरिक र बाह्य पर्यटकका लागि यो आकर्षकको केन्द्रमा पर्ने गर्छ । आइतवार भने दरवार क्षेत्रमा अन्य दिनको तुलनामा बढी नै भीडभाड देखिन्थ्यो । यसको कारण थियो, असार ३१ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘सम्झना बिर्सना’को एक गीतको छायांंकन र गीतमा नाच्दै थिए अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ ।
 
pooja sharma and aakash shrestha
 
पूजा र आकाश दर्शकमाझ परिचित अनुहार भएकाले उनीहरुलाई हेर्न र फोटो खिच्न बालबालिकादेखि तन्नेरी युवायुवतीहरुको ठूलै भीड थियो । सुटिङबाट ब्रेक हुनसाथ उनीहरुसँग फोटो खिच्नका लागि दर्शकहरुले घेरिहाल्थे । पूजा र आकाशले पनि झन्झट नमानी सेल्फी खिचेर दर्शकको मन राखिदिए । केहीले दुवैसँग एकसाथ तस्विर पनि खिच्न चाहेका थिए तर त्यो भने सम्भव भएन । 
 
गीतमा कहिले आकाश त कहिले पूजाको क्लोजअप सिन खिचिन्थ्यो । आ-आफ्नो सिन खिचेपछि दुवै अपरिचित झैं बेग्ला बेग्लै बस्थे । न हेराहेर छ न बोलचाल । मध्यान्नतिर दुवैले एकसाथ गीतमा नृत्य गरेको सिन खिच्ने पालो आयो । कोरियोग्राफर रामजी लामिछानेका दुई असिस्टेन्टले आकाश र पूजालाई डान्स स्टेप सिकाए । उनीहरुले एकअर्काको मुख नहेरी डान्स स्टेप फलो गरे । 
 
कहिले पूजा र आकाशको डान्स स्टेप विग्रिन्थ्यो त कहिले प्राविधिक कुरा मिल्दैन थियो । त्यसबेला आकाश पश्चिम र पूजा पूर्वतिर फर्केर बस्थे । न एकअर्कालाई हेर्नु छ न त केही बोलचाल छ । डान्स स्टेप विग्रँदा उनीहरुले एकअर्कालाई सहयोग पनि गरेनन् । त्यो दृश्य हेर्दा यस्तो लाग्थ्यो उनीहरु बाध्यताले एकसाथ काम गरिरहेका छन् र उनीहरु एकअर्काको अनुहार पनि हेर्न चाहँदैनन् । 
 
गीतको सुटिङ रिपोर्ट लिन केही सञ्चारकर्मीहरु दरवार स्क्वायर क्षेत्रमा पुगेका थिए । झिसमिसे हुन थालेपछि सञ्चारकर्मीले पूजा र आकाशसहित फिल्मको टिमसँग अन्तर्वार्ता लिने इच्छा देखाए । त्यसबेला पूजा सञ्चारकर्मीकै घेराभित्र थिइन् तर, आकाश एउटा रेस्टुरेन्टको कुनामा थिए । सञ्चारकर्मीको आग्रहपछि उनी अन्तर्वार्ता दिनका लागि पूजाको साथमा क्यामेराको अगाडि उभिए । 
 
करीब १०/१५ मिनेट लामो अन्तर्वार्ता पूजा र आकाशले एकसाथ दिए । धेरथोर एकअर्काको तारिफ पनि गरे तर, अनुहार नहेरी । अन्तर्वार्ता सकिनसाथ फेरि दुवैले आ-आफ्नो कुना च्यापे । कोरियोग्राफर र छायाँकारले ‘सट रेडी’ भनेपछि दुवै एकसाथ उपस्थित हुन्थे र कोरियोग्राफरले सिकाएको डान्स स्टेपमा कम्मर मर्काउँथे । त्यसबाहेक दुवैले एकअर्काको कुनै वास्ता गरेको देखिन्न थियो ।
 
pooja sharma and aakash shrestha
 
‘रामकहानी’पछि पूजा र आकाश कुन हदसम्म नजिक थिए भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ । फिल्मदेखि म्यूजिक भिडियोसम्म उनीहरुको जोडी छुटेन । कहिँ जाँदा समेत दुवै एउटै गाडीमा सवार हुन्थे । उनीहरुको एकअर्काको परिवारसँग पनि राम्रो सम्बन्ध थियो । तर, लकडाउनमा आकाशले गरेको एउटा कामले पूजा विच्किइन् र दुवैले देखावटी सम्बन्ध मात्र बाँकी राखेर अलग भए । 
 
सम्बन्धमा फाटो आएपछि पूजा र आकाशले एकसाथ फिल्म साइन गरेका छैनन् । म्यूजिक भिडियोमा भने आक्कलझुक्कल देखिने गरेका छन् । ‘सम्झना बिर्सना’पछि उनीहरु अभिनीत ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शन हुँदैछ । यी दुवै फिल्म प्रदर्शनमा आएपछि आकाश र पूजाबीच न फिल्म न त म्यूजिक भिडियोमा नै सहकार्य हुने बताइन्छ । हुनत, मनै फाटेपछि केले सिउने केले टाल्ने ?
 
तस्विर : स्माइल