
भर्सटायल अभिनेताको रुपमा चिनिएका खगेन्द्र लामिछाने निर्देशित पहिलो फिल्म ‘पानीफोटो’को प्रदर्शन मिति हेरफेर गर्दै मोसन पोस्टर सार्वजनिक गरिएको छ । यसअघि भदौ १० गतेलाई प्रदर्शन मिति तोकिएकोमा अब फिल्म साउन १३ गतेबाट प्रदर्शनमा आउनेछ । मोसन पोस्टरमा पात्रहरुको मनोभाव दर्शाइएको छ । पोस्टरमा अनुप बराल र मेनुका प्रधानको लुक्सले ध्यान खिच्छ ।
दुईटा मोसन पोस्टर सार्वजनिक गर्दै खगेन्द्रले फिल्म निर्देशन गर्नुको कारणबारे भिडियो सन्देशमा भनेका छन्, ‘मेरो एउटा सपना थियो कमसेकम एउटा फिल्म निर्देशन गर्ने । धेरैले सोध्नुभयो कलाकार र लेखक हुँदा हुँदै किन फिल्म निर्देशन गर्नुपर्यो भनेर । सपनाको कुनै उत्तर हुँदैन । त्यसैले मैले ‘पानीफोटो’ निर्देशन गरेँ ।’ फिल्ममा उनी स्वयंले मुख्य भूमिकामा अभिनय गरेका छन् ।
खगेन्द्रले दशक अगाडि गुरुकुलमा मञ्चन भएको नाटक ‘पानीफोटो’लाई फिल्ममा रुपान्तरण गरेका हुन् । नाटकलाई उनी आफैंले लेखेका थिए । फिल्ममा प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरीलगायतको पनि अभिनय रहेको छ ।
काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्गजामा छायांकन भएको फिल्मलाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् । त्यस्तै, फिल्ममा निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत छ । टुकी आर्ट्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको फिल्ममा खगेन्द्र स्वयंको लेखन छ । फिल्मलाई खगेन्द्रकी श्रीमती रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

