.jpg)
नेपाली फिल्मको एउटा युग हाँकेका चर्चित अभिनेता राजेश हमालको उमेर र शारीरिक तन्दुरुस्तीलाई लिएर हमेशा चर्चा हुने गर्छ । उमेरले ६० नजिक पुगिसकेका उनी शारीरिक रुपमा भने नौजवान देखिन्छन् । यसैले उनी आफ्नो वास्तविक उमेर भन्नै चाहँदैनन् । कसैले उमेर सोधिहाले उनी ‘भर्खर २१ वर्ष टेकेँ’ भन्दै जवाफ फर्काउने गर्दछन् । यद्यपि, उनको वास्तविक उमेर सर्वविदितै छ ।
बिहीवारबाट हमाल ५८ वर्षका भएका छन् । पशुपतिनाथको दर्शन गरेपछि उनलाई विहानदेखि बेलुकासम्म बर्थडे केक काट्नमै भ्याइनभ्याइ भयो । साँझतिर भक्तपुरमा अवस्थित ससुराली रेष्टुरेन्टमा उनी अभिनीत ‘गुन्द्रुक तिउन’ गीत सार्वजनिक गर्दै उनको बर्थडे पनि सेलिब्रेट गरियो । कार्यक्रममा रेष्टुरेन्टको तर्फबाट पोस्टरमा राजेश हमालको १८औं जन्मदिन भनेर लेखिएको थियो ।
सञ्चारकर्मीले ‘उमेर १८ वर्ष नै भएको हो ?’ भनेर सोधेको प्रश्नमा हमालले ठट्टा गर्दै भने, ‘१८ बर्ष पुगेपछि मैले उमेर गन्न छाडिदिएँ ।’ शुक्रवार उनले फेसबुकमा बर्थडे सेलिब्रेटका तस्विर तथा भिडियोहरु पोस्ट गर्दै ‘२१ वर्ष पनि पुगियो’ भनेर लेखेका छन् । उनले एक ठाउँमा काटेको दुईटा केकमध्ये एउटामा २ र अर्कोमा १ अक्षरको क्यान्डल राखिएको छ र उनले हाँस्दै केक काटेका छन् ।
पाल्पाको तानसेनमा पिता चुडा बहादुर हमाल र माता रेनु हमालको कोखबाट जन्मिएका हमाललाई दर्शकहरुले ‘महानायक’को रुपमा सम्बोधन गर्ने गरेका छन् । ‘बौद्धिक नायक’को रुपमा चिनिने उनले फिल्म ‘युगदेखि युगसम्म’बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए । यसपछि उनले करिअर फर्केर हेर्नु परेन । नेपाली फिल्ममा व्यवसायिकता ल्याउन उनको ठूलो भूमिका मानिन्छ ।

