मोडलिङको क्षेत्रमा १० वर्ष विताइसकेकी नीति शाह अब फिल्ममा डेब्यू गर्न कस्सिएकी छिन् । विगत केही वर्षमा ठूला स्टार र प्रतिष्ठित ब्यानरका कयौं फिल्म अस्वीकार गरेकी उनी अब फिल्ममा आउन ढिलो गर्ने पक्षमा छैनन् । यसै वर्ष अभिनेत्रीको रुपमा लञ्च हुने गरी उनी केही समयदेखि जिमदेखि डान्स क्लाससम्म लिइरहेकी छन् । उनले म्यानेजर समेत नियुक्त गरिकसकेकी छन् ।
फिल्ममा डेब्यू गर्ने मुड बनाएपछि नीतिले निर्माता तथा अभिनेता भुवन केसीलाई फोन गरेर राम्रो प्रोजेक्ट भए आफूलाई सम्झन आग्रह गरेको चर्चा छ । भुवनले यसअघि उनलाई फिल्म ‘ड्रिम्स’ अफर गरेका थिए । तर, त्यसबेला उनले फिल्ममा काम गर्ने इच्छा देखाइनन् । अब उनले फिल्ममा डेब्यू गर्न अहिलेका चर्चित अभिनेता अनमोल केसी र प्रदीप खड्काको साथ खोजेको बताइन्छ ।

अनमोल र नीति मल्पी स्कुलका क्लासमेट हुन् । यस हिसाबले उनीहरुको एकअर्कासँग राम्रो सम्बन्ध कायम छ । प्रदीपसँग पनि नीति एकदमै नजिक छिन् । उनीहरुले केही कमर्शियल विज्ञापनमा एकसाथ काम गरिसकेका छन् । अनमोल र प्रदीप दुवैको स्टारडम बलियो भएकाले उनीहरुको फिल्मबाट डेब्यू गर्दा करिअरलाई अगाडि बढाउन सहज हुने सोचाई नीति शाहमा देखिन्छ ।
यस्तैमा, उनले प्रदीप खड्काको फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेको चर्चा चलिरहेको छ । प्रदीपले फिल्म ‘प्रेमगीत ३’ रिलिजपछि अभिनय गर्न लागेको कमेडी फिल्म ‘हुतुतु’को अफर निर्माता सन्तोष सेनले डेढ वर्ष अगाडि नै नीतिलाई गरेको र उनले प्रदीपको अपोजिटमा भए मात्र फिल्ममा अभिनय गर्न तयार रहेको जानकारी निर्माता सेनलाई गराएको गोप्य स्रोतले बताएको छ ।
निर्माता सेनले पनि नीतिलाई ‘हुतुतु’ अफर गरेको स्वीकार गरे । तर, केही समयदेखि नीतिसँग फिल्मको बारेमा कुराकानी नभएको उनको भनाई छ । अब फिल्म ‘प्रेमगीत ३’ रिलिजपछि मात्र कुरा अगाडि बढाउने उनले बताए । यो बीचमा अनमोलको फिल्मबाट प्रस्ताव नआए नीतिले ‘हुतुतु’लाई नै पर्खिने स्रोत बताउँछ । दर्शकहरुले पनि प्रदीप र नीतिको जोडीलाई पर्दामा हेर्न चाहेका छन् ।

