Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘प्रसाद २’को निर्देशकमा सुदर्शन थापा ?

फिल्मीखबर, काठमाडौं, 2022/06/08
sudarshan thapa
 
फिल्म छायांकनमा नजाँदासम्म कलाकारदेखि निर्देशकसम्म हेरफेरको चक्र चलिरहन्छ । फिल्मको आधाउधी छायांकन सकिएको अवस्थामा समेत टिम परिवर्तन हुने गरेको छ । यस्तैमा, निर्माणको तयारीमा रहेको फिल्म ‘प्रसाद २’को निर्देशक परिवर्तन भएको खबर प्राप्त छ । पहिला सौरभ चौधरीले फिल्मलाई निर्देशन गर्ने फाइनल भएकोमा अब उनी बाहिरिएको स्रोतले जानकारी दियो ।
 
सौरभ अलग भएपछि फिल्मको निर्देशकमा सुदर्शन थापा भित्रिएको विश्वस्त स्रोतको दाबी छ । केही दिनदेखि उनी लेखक सुशील पौडेलसँग नयाँ बानेश्वरको एक होटलमा बसेर स्क्रिप्टलाई ‘लक’ गर्न व्यस्त रहेको बताइन्छ । यद्यपि, निर्माण टिमले निर्देशकमा सुदर्शन थापा भित्रिएको बारेमा कुनै जानकारी दिएको छैन । सुदर्शनले लभस्टोरी फिल्म निर्देशनमा आफूलाई स्थापित गरेका छन् ।
 
२०७५ सालमा प्रदर्शन भएको समीक्षात्मक र व्यावसायिक दुवै रुपमा सफल ठहरिएको फिल्म ‘प्रसाद’को सिक्वेलको रुपमा निर्माण हुन लागेको फिल्ममा अघिल्लो पार्टका तीन प्रमुख कलाकारहरु विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतले नै अभिनय गर्दैछन् । अहिले विपिनले फिल्म ‘के घर के डेरा’को छायांकन गरिरहेकाले यसपछि ‘प्रसाद २’को छायांकन सुरु हुने जानकारी प्राप्त छ । 
 
‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए । सिक्वेल निर्देशनको पहिलो अफर पनि निर्माता सुभाष थापाले उनैलाई गरेका थिए । तर, राउतले सिक्वेल फिल्म निर्देशन नगर्ने बताएपछि सौरभ निर्देशकको रुपमा भित्रिएका थिए । स्क्रिप्ट लेखनको सुरुवातदेखि कलाकार छनोटसम्म उनी यथावत् थिए । छायांकनमा निस्कने समयमा भने सुदर्शनको काँधमा निर्देशनको जिम्मेवारी आएको छ ।