Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शोभितले घोषणा गरे ‘डाँडाको वरपीपल २’

फिल्मीखबर, काठमाडौं, 2022/06/08
शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वरपीपल’ गत वर्षको असोज २६ गते प्रदर्शन भएको थियो । प्रदर्शनको संघारमा हुँदा निर्देशक बस्नेतले ‘महानायक’ विवाद झिकेपछि त्यसको असर फिल्मको व्यापारमा पर्‍यो । दर्शक अभावले एक हप्ता पनि सिनेमा हलमा टिक्न नसकेको फिल्म यसै साता बुढासुब्बाको यूट्युबमा सार्वजनिक भएको छ । यूट्युबमा फिल्मको भ्यूज आक्रामक छ । 
 
लक्ष्मी पूजा' बाट राम्रै नाफा भयो : शोभित बस्नेत
 
यूट्युब रिलिजको ३ दिनमा फिल्मलाई १६ लाख बढीले हेरिसकेका छन् भने २ हजार बढी कमेन्टमा अधिकांशले प्रशंसामा शब्द खर्चिएका छन् । कलाकारको अभिनय र कथावस्तुको प्रशंसा बढी भएको छ । हुनत, यूट्युबमा रिलिज हुने नेपाली फिल्मलाई न भ्यूजको खडेरी हुन्छ न प्रतिक्रिया नराम्रो मिल्ने गर्छ । सित्तैमा हेर्न पाएको फिल्मको प्रशंसा गर्ने नेपाली दर्शकहरुको बानी नै हो । 
 
यूट्युबमा फिल्मले पाएको भ्यूज र प्रतिक्रियाबाट उत्साहित भएर निर्देशक बस्नेतले ‘डाँडाको वरपीपल २’ निर्माण गर्ने घोषणा गरेका छन् । उनले भने, ‘विभिन्न कारणले ‘डाँडाको वरपीपल’ हलमा राम्रो चल्न सकेन । तर, यूट्युबमा फिल्मलाई जुन खालको प्रतिक्रिया आएको छ त्यसबाट उत्साहित छु । अधिकांश दर्शकले दोस्रो पार्ट बनाउन आग्रह गरेकाले पनि सिक्वेल बनाउने घोषणा गरेको हुँ ।’
 
‘डाँडाको वरपीपल’ बनाउँदा नै सिक्वेलको परिकल्पना गरेको निर्देशक बस्नेतले बताए । उनले अगाडि भने, ‘सिक्वेल बनाउने भनेरै हामीले फिल्मको अन्त्य गरेका छौं । तर, हलमा राम्रो नचलेपछि सिक्वेल बनाउने मनस्थितिमा हामी थिएनौं । यूट्युब प्रतिक्रियाबाट भने सिक्वेल बनाउनका लागि जोश आएको छ ।’ आफू चाँडै निर्माण कम्पनी बुढासुब्बासँग छलफलमा बस्ने शोभितको भनाई छ ।
 
shovit basnet
 
उनी ‘डाँडाको वरपीपल २’ बुढासुब्बासँग मिलेर वा एक्लै निर्माण गर्न पनि तयार देखिएका छन् । यसबारेमा केही दिनमा टुंगो लाग्ने उनले बताए । उनी ‘डाँडाको वरपीपल’को सिक्वेलमा अघिल्लो पार्टकै प्रमुख कलाकारहरु शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत र रुविना थापालाई दोहोर्‍याउने सोचमा छन् । तर, अहिलेसम्म कुनै कलाकारसँग सिक्वेलको बारेमा कुरा नभएको शोभितले बताए ।