
अभिनेता अक्षय कुमार र पूर्व मिस वर्ल्ड मानुषी छिल्लर अभिनीत फिल्म ‘सम्राट पृथ्वीराज’ले बक्सअफिसमा आफ्नो प्रभाव बनाउन असफल देखिएको छ । पहिलो विकेन्डमा ३९ करोड ४० लाखको सन्तोषजनक कमाई गरेको फिल्मको चौंथो दिनको व्यापारमा ५० प्रतिशत गिरावट आएको छ । फिल्मले सोमवार ६ करोडको मात्र कलेक्सन गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
४ दिनमा ४५ करोड लाख कमाएको फिल्मको लाइफटाइम कलेक्सन सय करोड पनि नपुग्ने देखिन्छ । डेढ सय करोडमा निर्माण भएको फिल्मले प्रदर्शनको पहिलो दिन १० करोड ७० लाख, दोस्रो दिन १२ करोड ६० लाख, तेस्रो दिन १६ करोड १० लाखको व्यापार गरेको थियो । चौंथो दिनबाट व्यापारमा ठूलो गिरावट आएकाले अब फिल्मको व्यापार उकालो लाग्ने सम्भावना टरेको छ ।
‘सम्राट पृथ्वीराज’को रिलिजले कार्तिक आर्यन अभिनीत फिल्म ‘भूल भुलैया २’को व्यापारमा ठूलो असर गर्ने अनुमान गरिएको थियो । तर, बक्सअफिसमा त्यस्तो देखिएन । ‘भूल भुलैया २’ले तेस्रो हप्तामा पनि सुखद् व्यापार गरिरहेको छ । फिल्मले अहिलेसम्म १ सय ५७ करोडको व्यापार गरेको छ भने लाइफटाइम कलेक्सन १ सय ८० करोडको आसपास पुग्न सक्ने प्रक्षेपण गरिएको छ ।
त्यस्तै, ‘सम्राट पृथ्वीराज’सँग एकसाथ प्रदर्शनमा आएको साउथ सुपरस्टार कमल हासनको फिल्म ‘विक्रम’ले भारतमा ४ दिनमा १ सय २१ करोडमाथिको व्यापार गरेको छ भने आदिवी शेषको फिल्म ‘मेजर’ले ३० करोड छापिसकेको छ । बक्सअफिसका हिट मेशिन मानिने अक्षय कुमारको यसपटक स्टारडमले खासै काम गर्न सकेन । फिल्मलाई चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेका हुन् ।

