Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रकाश’सँग नजुध्ने भयो ‘पानीफोटो’, साउन १३ मा आउने

फिल्मीखबर, काठमाडौं, 2022/06/07
Kahgendra Lamichhane
 
अभिनेता खगेन्द्र लामिछानेले पहिलो पटक निर्देशन गरेको फिल्म ‘पानीफोटो’को प्रदर्शन मिति परिवर्तन भएको छ । यसअघि आगामी भदौ १० गतेलाई प्रदर्शन मिति घोषणा गरिएकोमा अब साउन १३ गते फिल्म प्रदर्शन हुनेछ । भदौ १० गते अभिनेता प्रदीप खड्का अभिनीत फिल्म ‘प्रकाश’ रिलिज हुने भएपछि खगेन्द्रले एक महिना अगाडि नै ‘पानीफोटो’लाई प्रदर्शन गर्न लागेका हुन् । 
 
खगेन्द्रले आफू लिखित नाटक ‘पानीफोटो’लाई फिल्मको स्वरुपमा ढालेका हुन् । माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा–आमाको कथालाई प्रस्तुत गरिएको फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, मलिका महत, अशान्त शर्मालगायतको अभिनय रहेको छ ।
 
काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्गजामा छायांकन भएको फिल्मलाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् । त्यस्तै, फिल्ममा निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत छ । टुकी आर्ट्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको फिल्ममा खगेन्द्र स्वयंको लेखन छ । फिल्मलाई खगेन्द्रकी श्रीमती रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।