.jpg)
यही जेठ १५ गते संसारको सबैभन्दा अग्लो शिखर सगरमाथा (८,८४८.८६ मिटर उचाई) को सफल आरोहण गरेकी अभिनेत्री दीया पुनले काठमाडौं फर्किए लगत्तै नयाँ फिल्म साइन गरेकी छन् । सगरमाथा आरोहणको तयारी गरिरहँदा उनी अभिनीत फिल्म ‘मन्त्र’ हलमा रिलिज भएको थियो । सगरमाथा आरोहण गरेर फर्किएपछि उनी सोमवार फिल्म ‘अन्तिम संस्कार’मा अनुबन्ध भएकी हुन् ।
प्रदीप शाहीको निर्देशनमा बन्न लागेको यो फिल्ममा दीयासँगै विजय लामा, एवनराज उप्रेती, त्रिचन्द्र राई, विनोद सुवेदी (खत्री), सस्मिता गिरी, श्याम राईलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो फिल्म हो । यसअघि उनको निर्देशनमा फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ निर्माण भएको थियो, जुन यसै वर्ष प्रदर्शनमा आउने तयारीमा छ ।
फिल्मको छायांकन चाँडै सुरु हुने निर्देशक शाहीले जानकारी दिए । शाही प्रोडक्सनको ब्यानरमा सामाजिक कथामा निर्माण हुन लागेको फिल्मलाई विनोद सुवेदी (खत्री) ले निर्माण गर्नेछन् । अभिनेत्री दीया पुनले करीब ४ वर्षपछि नयाँ फिल्म साइन गरेकी हुन् । बेलायतको एक अस्पतालमा नर्सको रुपमा कार्यरत उनी गत चैतमा सगरमाथा आरोहणको उद्देश्यले नेपाल आएकी थिइन् ।

