Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा’ समुहको ‘माग्ने राजा’ निर्देशन गर्दै हेमराज !

फिल्मीखबर, काठमाण्डौ, 2022/06/06
deepak-deepa and hemraj
 
लभस्टोरी फिल्म निर्देशनमा आफूलाई प्रमाणित गरिसकेका हेमराज विसीले नेपाली फिल्म क्षेत्रको सबैभन्दा ठूलो समुहसँग टाइअप गरेका छन् । उनले ‘छक्का पञ्जा’ समुहको नयाँ फिल्मलाई निर्देशन गर्न लागेका हुन् । उनले ‘छक्का पञ्जा ४’ निर्देशन गर्न लागेको चर्चा चलिरहे पनि फिल्मको नाम ‘माग्ने राजा’ जुराइएको स्रोत बताउँछ । तर, हेमराजले अहिलेसम्म नाम तय नभइसकेको बताए । 
 
उनले भने- ‘अहिले हामी स्क्रिप्टलाई अन्तिम रुप दिँदैछौं । असारमा छायांकन गरेर दशैंमा रिलिज गर्ने टार्गेट छ । कलाकारदेखि फिल्मको नाम केही दिनमा टुंगो लाग्नेछ ।’ दीपकराज गिरी र दीपाश्री निरौलाले यसपालीको दशैंमा ‘छक्का पञ्जा ४’ प्रदर्शन गर्ने घोषणा गरेका थिए । हेमराजसँगको टाइअपपछि ‘छक्का पञ्जा ४’कै स्क्रिप्टमाथि नयाँ नाममा फिल्म बन्न लागेको स्रोतको दाबी छ ।
 
‘छक्का पञ्जा’ सिरिजको निर्देशन सम्हाल्दै आएकी दीपाश्री निरौलासँगै दीपकराज गिरी, केदार घिमिरे, निर्मल शर्माको फिल्ममा अभिनय रहने जानकारी प्राप्त छ । ‘छक्का पञ्जा’ सिरिजबाहेक दीपक-दीपा समुहले फरक-फरक निर्देशकसँग काम गर्दै आएको छ । ‘६ एकान ६’लाई दिनेश डिसी, ‘वडा नं. ६’लाई उज्वल घिमिरे र ‘छ माया छपक्कै’लाई दीपेन्द्र लामाले निर्देशन गरेका थिए । 
 
फिल्म ‘होस्टेल’बाट निर्देशकीय यात्रा सुरु गरेका हेमराजले ‘जेरी’, ‘गाजलु’, ‘ग्यांगस्टार ब्लूज’, ‘द ब्रेकअप’, ‘घामड शेरे’ फिल्मको निर्देशन गरिसकेका छन् । तर, अभिनेता अनमोल केसीसँग सहकार्य टुटेपछि उनले निर्देशनमा सफलता पाउन सकेका छैनन् । दीपक-दीपासँगको सहकार्य उनका लागि पनि फलिफाप हुने देखिन्छ । निर्देशक विसीको पाइपलाइनमा अरु पनि फिल्म छन् ।