Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

मेरो सङ्घर्षको नतिजा हो ‘प्रकाश’ : प्रदीप खड्का

फिल्मीखबर, काठमाडौं, 2022/06/05
फिल्म ‘प्रेमगीत’बाट स्टारको रुपमा उदाएका प्रदीप खड्का लभर ब्वाईको रुपमा रुचाइएका अभिनेता हुन् । ‘प्रेमगीत २’, ‘रोज’, ‘लिलिबिली’, ‘लभ स्टेशन’ जस्ता फिल्ममा रोमान्टिक भूमिकामा प्रस्तुत भएका उनलाई दर्शकले सुकिला चरित्रमै हेर्न रुचाउँछन् । करिअरको उचाईंमा आफ्ना प्रशंसकको चाहना विपरित जाने हिम्मत कलाकारहरुले गर्दैनन् । तर, प्रदीप अपवाद बनेका छन् । 
 
उनले आफ्नो करिअरमाथि नै जोखिम मोलेर पहिलो पटक फिल्म ‘प्रकाश’मा भूईंमान्छे चरित्र निर्वाह गरेका छन् । फिल्ममा उनी जुम्लाको एक अति विपन्न परिवारको संघर्षशील युवकको भूमिकामा प्रस्तुत छन् । गत हप्ता सार्वजनिक भएको फिल्मको टिजरमा प्रदीपको चकलेटी लुक्स हराएको छ । उनले बाँचेको चरित्रमा भूईंमान्छे जीवनबाट उठेका हरेक मानिसले आफ्नो कथा भेट्छन् । 
 
pradeep khadka
 
उर्वर करिअरमा चुनौतीपूर्ण भूमिका निर्वाह गरेकाले प्रदीप यो फिल्मलाई लिएर गम्भीर छन् । महिना दिनको अन्तरमा रिलिज हुने आफ्नो अर्को फिल्म ‘प्रेमगीत ३’भन्दा उनले भदौ १० गते रिलिज हुने ‘प्रकाश’लाई नै महत्व दिएर सामाजिक सञ्जालमा आफ्नो धारणा राखिरहेका छन् । उनले कन्टेन्टको हिसाबमा ‘प्रेमगीत ३’भन्दा ‘प्रकाश’लाई विकाउन चुनौतीपूर्ण हुने बुझेर पनि हुनसक्छ । 
 
यसैक्रममा, प्रदीपले आइतवार सामाजिक सञ्जालमा आफू फिचर ‘प्रकाश’को एक पोस्टर सार्वजनिक गर्दै आफ्नो लागि यो फिल्म कलाकारको हिसाबले विशेष रहेको उल्लेख गरेका छन् । यस फिल्ममा काम गर्ने क्रममा कला र कलाकारिताप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आएको र फिल्म क्षेत्रमा केही स्थान बनाउन गरेको सङ्घर्षको नतिजाको रुपमा ‘प्रकाश’लाई लिएको उनको भनाई छ ।
 
उनले लेखेका छन्, ‘एउटा पात्रमार्फत् सम्पूर्ण कथा नै जीवन्त भइदिन सक्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पात्रलाई न्याय गर्न उसको वस्तुस्थितिदेखि भावनालाई बुझ्ने हेतुले मैले जुम्लेली लवज सिक्नेदेखि पात्र अध्ययनका लागि फिल्मको कार्यशालामा कैयौँ दिनहरु विताएको छु । एउटा कलाकारले पात्र र कलाकारितालाई कसरी लिनुपर्दछ भन्ने मेरो सोचमा नयाँ आयाम थपिएको छ ।’
 
दिनेश राउत निर्देशित तथा महेन्द्र अधिकारी निर्मित फिल्ममा प्रदीपका अलावा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखकलगायतको पनि अभिनय छ । फिल्ममा विकास सुवेदीको कथा, राजेश श्रेष्ठको छायांकन, जिवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।