
आगामी असोज ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’बाट अभिनय करिअर सुरु गरेका मनिष राउतले अब निर्देशनमा पनि डेब्यू गर्ने भएका छन् । फिल्म ‘शमशेर’लाई उनले निर्देशन गर्न लागेका हुन् । यो फिल्ममा उनको मुख्य भूमिका पनि रहनेछ । फिल्मको स्क्रिप्ट र टिम राम्रो भएकाले आफूले निर्देशनमा डेब्यू गर्ने निर्णय गरेको उनले बताएका छन् ।
ओस्कार कलेजबाट फिल्म मेकिङमा ब्याचलर गरेका मनिष अहिले एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकको रुपमा काम गरिरकेका छन् । आगामी दिनमा अभिनय र निर्देशनलाई समानन्तर रुपमा अगाडि बढाउने उनको सोच छ । उनका अनुसार, अहिले फिल्मका लागि अभिनेत्री छनोटको कार्य भइरहेको छ । यसबीच, फिल्ममा अभिनेता सुनिल थापा मुख्य भूमिकामा भित्रिएका छन् ।
फिल्ममा प्रकाश शाह, गौरव पहारी, हिमेश पन्त, सुमन गौतम, दिपक कोइराला, सुमन थापा, सविन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुलीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । एक्सन जनरामा निर्माण गरिने फिल्ममा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको लगानी रहनेछ । अभिनेत्री छनोट भएसँगै वर्कसप गरेर फिल्मको सुटिङ थाल्ने तयारीमा मनिष छन् ।
फिल्मको काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा छायांकन हुनेछ । सीबर्ड्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने फिल्मको पोस्टर डिजाइनरमा राकेश दाहाल छन् । फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत रहनेछ । निर्माण टिमले मनिषसहित प्रकाश, गौरव, हिमेश र सुमनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिसकेको छ, जसमा उनीहरु भिन्न लुक्समा प्रस्तुत भएका छन् ।

