नेपालमा दशकौंदेखि भारतीय फिल्मले आफ्नो दबदबा बनाइराखेको छ । भारतमा निर्माण हुने प्रायः फिल्म नेपालमा भित्रिएकै हुन्छन् र वर्षमा केही फिल्मले रेकर्डतोड व्यापार पनि गर्छन् । पछिल्लो समय त भारतको प्रान्तीय भाषाको साउथ फिल्मले समेत नेपालमा आफ्नो प्रभुत्व जमाउन थालेको छ । तर, नेपाली फिल्मले आजसम्म भारतका सिनेमा हल टेक्न पनि पाएका छैनन् ।
.jpg)
भारतमा नेपाली फिल्म रिलिज गर्न हिन्दी भाषामा डबिङ गर्नुपर्ने र त्यसका लागि खर्च ठूलो लाग्ने भएकाले पनि नेपाली निर्माताले जोखिम मोल्न नचाहेको देखिन्छ । तर, निर्माता सन्तोष सेनले पहिलो पटक नेपाली फिल्मलाई हिन्दी भाषामा डब गरेर भारतका हलमै प्रदर्शन गर्ने आँट देखाएका छन् । उनी निर्मित फिल्म ‘प्रेमगीत ३’ हिन्दी भाषामा भारतका हलमा प्रदर्शन हुने तयारीमा छ ।
कोरोना महामारीले नेपालमा फिल्मको रिलिज रोकिएपछि निर्माता सेनले ‘प्रेमगीत ३’लाई हिन्दीमा डब गरेर भारतमा पनि प्रदर्शन गर्ने निर्णय गरेका थिए । यसका लागि उनले करीब १ वर्ष मुम्बई बसेर फिल्मको हिन्दी डबिङ र सम्पादनको काम फत्ते गरे । अब फिल्म हिन्दी भाषामा प्रदर्शनका लागि तयार छ भने इम्पोसिबल फिल्मस्ले भारतको प्रदर्शन अधिकार पनि खरिद गरिसकेको छ ।
लामो समयदेखि ‘प्रेमगीत ३’लाई कुन नाममा भारतमा प्रदर्शन गर्ने भन्नेमा वितरक कम्पनी र निर्माण टिम अन्योलमा थियो । अन्ततः फिल्मको हिन्दी नाम जुरेको छ । ‘विश्वजीतम्’ नाममा फिल्म भारतमा प्रदर्शनमा हुने जानकारी निर्माता सेनले फेसबुकमार्फत् दिएका छन् । उनले इन्डियन मोसन पिक्चर प्रोडुसर्स एसोसियसनमा फिल्मको नाम दर्ता भएको पत्र पनि सार्वजनिक गरेका छन् ।
सेनले चाँडै ‘विश्वजीतम्’ नामसहितको पोस्टर र भारतका लागि प्रदर्शन मिति घोषणा गरिने जानकारी पनि दिएका छन् । नेपालमा भने ‘प्रेमगीत ३’ आगामी असोज ७ गते प्रदर्शनमा आउँदैछ । स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापालगायतको अभिनय रहेको छ ।

