अभिनेत्री मिरुना मगरले आफूलाई ‘ब्याड टच’ गरेको भन्दै आइतवार फुर्पा तामाङलाई थप्पड हानेको घटना मिलापत्रपछि पनि सेलाउने छाँटकाँट देखिएको छैन । बुधवार फुर्पाले गल्ती स्वीकार गरेर माफी मागेको र मिरुनाले भाई सम्झेर माफी दिएको भन्दै दुवैले हस्ताक्षर गरेको पत्र सार्वजनिक भएको थियो । दुई पक्षबीच सहमति भइसके पनि विवाद भने झन् झन् दन्किँदै गएको छ ।
एकथरीले ‘कबड्डी ४’को व्यापारमा असर नहोस् भन्नका लागि दुर्व्यवहार जस्तो घटना मिलापत्रमा टुंग्याएकोमा आपत्ति जनाएका छन् भने अर्काथरीले फुर्पा तामाङलाई विना गल्ती थप्पड हानेको भन्दै मिरुनालाई गालीगलौज गरिरहेका छन् । यसैक्रममा, आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेर अब यो विषयमा विवाद र टिका-टिप्पणी नगर्ने भन्दै हस्ताक्षर गरेका फुर्पाले बोली फेरेका छन् ।
.jpg)
शुक्रवार एक व्यक्तिसँग फेसबुक लाइभमा बोल्ने क्रममा उनले मिरुना मगरलाई बचाउन आफ्नो गल्ती नै नभए पनि माफी मागेको बताएका छन् । उनले भनेका छन्, ‘पत्रमा गलत बुझाईका कारण घटना घटेको भनेर लेख्न खोजिएको थियो । तर, हिरोइनले यस्तो लेख्दा मान्छेहरुले नराम्रो भन्छन्, मलाई बचाउनुस् भनेर रोएपछि मेरो गल्ती नै नभए पनि मैले माफी मागेको भनेर पत्र बनाइयो ।’
बाहिरतिर ‘कबड्डी ४’को प्रदर्शन रोक्नुपर्ने माग र हिरोइनलाई धेरैले नराम्रो भन्न थालेकाले त्यस्तो नहोस् भन्नका लागि आफूले माफी पत्रमा हस्ताक्षर गरेको उनको भनाई छ । उनले हलमा मिरुना मगरमाथि आफूले दुर्व्यवहार नगरेको पनि स्पष्टिकरण दिएका छन् । फोटो खिचेर घुम्ने क्रममा भीड ठूलो भएकाले धकेलाधकेलमा आफ्नो हात मिरुना मगरसँग ठोक्किन पुगेको उनले बताएका छन् ।
उनले भनेका छन्, ‘हलमा फिल्म हेरेर बाहिर निस्कँदा कलाकारहरु आउनुभएको रहेछ । मलाई पनि एकदमै फोटो खिच्न मन लाग्यो । सेलिब्रेटीहरुसँग फोटो खिच्ने पाइरहँदै भनेर म पनि फोटो खिच्न भीडमा पसेँ । त्यसैबेला हिरोइन (मिरुना मगर) लाई देखेँ । मैले उहाँसँग फोटो खिचेर घुम्ने क्रममा भीडले गर्दा धकेलाधकेल भएको थियो । त्यसबेला मेरो हातले उहाँको शरीरमा छुन पुग्यो ।’
मिरुना मगरले अचानक थप्पड हानेपछि आफू निकै डराएको बताउँदै उनले अगाडि भनेका छन्, ‘थप्पड हानेपछि उहाँले माफी माग्न भन्नुभयो । सबैले मतिर हेरिरहेकाले म डराएँ र तीन पटक सरी भनेँ । उहाँले थप्पड हानेपछि मलाई लाज लागेको थियो । अनि, म हलबाट साथीहरुसँग बाहिर निस्कँदै थिएँ त्यहीबेला मलाई प्रहरीले समात्यो । प्रहरीले मलाई थुनामा कुटपिट चाहिँ गरेन ।’
मिरुना र फुर्पाबीच भएको सहमति पत्रमा मिरुनाको तर्फबाट साक्षीको रुपमा रामबाबु गुरुङ, दयाहाङ राई, मणीराम पोखरेल, विजय बराल, संयोज लाफा मगर, पशुपति राई र कालीप्रसाद बाँस्कोटाले हस्ताक्षर गरेका छन् भने फुर्पा तामाङको तर्फबाट साक्षीको रुपमा खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ, राजु तामाङ, कर्मा राप्के र हिस्से लुन्डुप लामाले हस्ताक्षर गरेका छन् ।

