परिवर्तन नेपालले अभिनेत्री मिथिला शर्मा र चलचित्र पत्रकार विदुर गिरीलाई ‘हरितारा चलचित्र पुरस्कार’ प्रदान गरेको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई जनही २५ हजार रुपैयाँ राशीसहित सम्मान पत्र प्रदान गरिएको हो । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलालाई ‘परिवर्तन नेपाल पत्रकारिता सम्मान’बाट सम्मानित गरियो ।
त्यस्तै, परिवर्तन नेपालले ‘दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ अभिनेता विनोद श्रेष्ठ र प्राविधिक मनोज केसीलाई प्रदान गर्यो । यो पुरस्कारको राशी जनही दश हजार रुपैयाँ छ । ११ हजार १ सय ११ रुपैयाँ राशीको चेतन कार्की स्मृति पुरस्कार भने अभिनेता तथा निर्देशक देशभक्त खनाललाई प्रदान गरिएको छ । उक्त कार्यक्रममा अन्य फिल्मकर्मीहरुलाई पनि सम्मान गरिएको थियो ।
.jpg)
निर्देशकहरु मदन घिमिरे, ज्ञानेन्द्र देउजा, लेखक तथा निर्माता मौनता श्रेष्ठ, अभिनेता राजकुमार शाह, अभिनेता श्रीदेव भट्टराईलाई ‘परिवर्तन नेपाल विशेष सम्मान’ अर्पण गरियो भने कलाकार शारदा गिरी, निर्देशक जनकराज खकुरेल, निर्देशक देवेन्द्र पाण्डे, कलाकारहरु दीपाशा विसी, नन्दा बस्याल, रंगकर्मी मञ्जु निरौला, रेणु पौडेल, रजनी अर्याललाई ‘परिवर्तन सम्मान’ प्रदान थियो ।
पुरस्कार र सम्मानको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय सम्मिलित समितिले गरेको थियो । वि.सं. २०५२ सालमा स्थापना गरिएको ‘हरितारा चलचित्र पुरस्कार’ नेपालको पहिलो चलचित्र पुरस्कार मानिन्छ । स्वर्गीय विजय राणाले स्थापना गरिएको उक्त पुरस्कारको संरक्षक र अध्यक्ष मनोज शम्सेर ज.ब.रा. हुन् भने सदस्य सचिवमा निर्देशक तथा कलाकार मोहन निरौला छन् ।
पुरस्कार तथा सम्मान वितरण समारोहमा भुवन चन्द, करिश्मा मानन्धर, दीपाश्री निरौला, रेजिना उप्रेती, रेखा थापा, रक्षा सिंह राणा, सम्झना उप्रेती रौनियार, मदनदाश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । परिवर्तन नेपालले अर्पण गर्ने पुरस्कारका लागि निर्देशक मोहन निरौलाकी श्रीमती कविता निरौलाले दश लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको पनि जानकारी गराइयो ।

