मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तृप्तिको फिल्ममा फर्किने इच्छा

फिल्मीखबर, काठमाडौं, 2022/03/22
एक समय नेपाली फिल्मकी निर्विकल्प अभिनेत्री हुन्, तृप्ति नाडकर । फिल्म ‘सम्झना’बाट अभिनय यात्रा सुरु गरेकी उनले यसपछि करिअर फर्केर हेर्नु परेन । ‘साइनो’, ‘कुशुमे रुमाल’, ‘लाहुरे’, ‘कोसेली’ जस्ता यादगार फिल्ममा अभिनय गरेकी उनी पछिल्लो पटक २०७० सालमा फिल्म ‘मानव’मा देखिएकी थिइन् । तर, यो फिल्मको असफलतापछि उनी ठूलो पर्दाबाट हराएकी छन् । 
 
तृप्तिको भारत जन्मभूमि र नेपाल मातृभूमि हो । उनले नेपाली फिल्ममा आउनुभन्दा अगाडि चारवटा मराठी फिल्ममा अभिनय गरिसकेकी थिइन् । पिता मराठी फिल्मको निर्माता भएकाले उनले बाल्यकालदेखि नै अभिनय गर्दै आएकी थिइन् । उनले निर्देशक आनन्द मेहेन्दुको हिन्दी सिरियल ‘लिलिपुट’मा अभिनेता ऋषि कपुरसँग बाल कलाकारको रुपमा समेत अभिनय गरेकी थिइन् । 
 
निर्देशक द्वय शम्भु प्रधान र तुलसी घिमिरेले नेपाली फिल्ममा नयाँ अनुहार ल्याउने उद्देश्यसहित तृप्तिको अभिनय हेर्न सुटिङ सेटमा पुगेका थिए । शम्भु उनको अभिनयबाट प्रभावित भए र उनको घरमै पुगेर फिल्मको प्रस्ताव राखे । त्यसबेला तृप्तिलाई नेपाली बोल्न समेत आउँदैन थियो । उनलाई नेपाली भाषा सिकाउन तुलसी घिमिरे र उनकी श्रीमती भारतीले धेरै सहयोग गरेका थिए ।
 
पल्टन' को मुहुर्त
 
पत्रकार जीवन पराजुलीद्वारा लिखित ‘क्लोज-अप’ पुस्तकमा अभिनेत्री नाडकरले नेपाली भाषा सिक्नका लागि भएको कठिनाईबारे भनेकी छन्, ‘मलाई ‘सम्झना’को स्क्रिप्ट दिइएको थियो । संवाद निकै गाह्रो लाग्यो, किनकि लामालामा थिए । सम्झेर बोल्न सकिँदैन थियो । मलाई नेपाली भाषा सिकाउन निर्देशक तुलसी घिमिरे, भारती भाउजु र निर्देशक शम्भु प्रधानले धेरै सहयोग गर्नुभयो ।’ 
 
अहिले तृप्तिको व्यवसायिक जीवनले कोल्टे फेरिसकेको छ । कुनै समय क्यामेराको अगाडि एक्सन-कटमा व्यस्त हुने उनी केही वर्षयता शिक्षिका बनेकी छन् । उनले पुस्तकमा भनेकी छन्, ‘म झण्डै सात वर्षदेखि फुलटाइमर शिक्षिका बनेकी छु । प्रि-प्राइमरी सेक्सनका स-साना बच्चाहरुलाई पढाउँछु, सिकाउँछु । मैले समयको सदुपयोग गरेकी छु । हरेक मानिस व्यस्त रहन आवश्यक छ ।’
 
तृप्ति नेपाल नआएको आठ वर्ष भइसकेको छ । यो बीचमा उनले नेपाली फिल्ममा फर्किने प्रयास गरेपनि विभिन्न कारणले सम्भव हुन सकेन । तर, नेपाली फिल्ममा अभिनयको हुटहुटी अझै नमरेको उनी बताउँछिन् । ‘अहिले म स्कुलमा बालबालिकासँग व्यस्त छु । तर, अफर आयो भने फिल्मको काम गर्छु । स्क्रिप्ट क्लिक भयो भने म जहिल्यै पनि नेपाली फिल्ममा आउनेछु,’ उनले भनेकी छन् ।
 
तृप्ति नेपाली फिल्ममा फर्किन नसके पनि उनका छोराले भने नेपाली फिल्ममा डेब्यू गरेका छन् । सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्म ‘बाबरी’मा उनका छोरा धिरज नाडकरको मुख्य भूमिका छ । यो फिल्ममा तृप्तिको पनि अभिनय रहने बताइएको थियो । तर, विभिन्न कारणले उनी फिल्ममा जोडिन सकिनन् । उनी छोराले अभिनय गरेको फिल्म हेर्न नेपाल आउन सक्ने जानकारी प्राप्त छ ।