मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनस्क्रिन काम पाउन छाडे अफस्क्रिन काम गर्छु : प्रदीप खड्का

फिल्मीखबर, काठमाण्डौ, 2021/03/11
कोरोनाका कारण ९ महिना फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि भएनन् । फिल्म निर्माण र प्रदर्शन ठप्प हुँदा छायांकन र प्रचार-प्रसारमा भ्याइनभ्याइ हुने कलाकारहरु पनि फुर्सदिला भए । कतिले यो समयलाई सिक्ने अवसरको रुपमा लिए भने कति विवादै विवादको चक्रव्युहमा फसे । ९ महिना लामो वनबास जीवनपछि कलाकारहरु पुनः आफ्नो कर्मथलोमा फर्किन थालेका छन् । 
 
लकडाउन अवधिमा अरु कलाकारहरु विवादमा फसिरहँदा अभिनेता प्रदीप खड्का भने ‘हुतुतु र प्रकाश’ को स्क्रिप्टलाई बलियो बनाउन कम्मर कसेर लागेका थिए । त्यही समयमा उनले तीन महिना पोखरामा कलाकार अनुप बरालसँँग अभिनयको कोर्ष लिए । लकडाउनमा दुईवटा म्यूजिक भिडियोमा पनि काम गरेका उनी केही दिनमा फिल्म ‘प्रकाश’ को छायांकनमा व्यस्त हुँदैछन् ।
 
 
कोरोना महामारीको समयमा आफूलाई फिल्मबाहेक अरु क्षेत्रमा काम गर्न नसक्ने अनुभूति भएको उनी बताउँछन् । बुधवारबाट २९ वर्षमा लागेका उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘पहिला म फिल्ममा काम पाउन छाडेँ भने अरु फिल्डमा केही गर्छु भन्ने सोच्थेँ । तर, एक महिना लकडाउन अवधिपछि म फिल्मभन्दा बाहेक अरु क्षेत्रमा काम गर्न सक्दिनँ भन्ने अनुभूति भएको थियो ।’
 
अनस्क्रिन काम पाउन छाडेको खण्डमा अफस्क्रिनमा बसेर फिल्ममै काम गर्ने तर अरु फिल्डमा काम नगर्ने उनको अडान छ । लकडाउनअघि अभिनयलाई आफूले सामान्य रुपमा लिने गरेको भए पनि अब गम्भीर भएको उनी बताउँछन् । प्रदीप अगाडि भन्छन्, ‘जब मलाई यो अनुभूति भयो त्यसपछि मैले अभिनयको क्लास लिएँ । अनलाइनबाट अरु चिजहरुको अध्ययन गर्न थालेँ ।’
 
उनी आफूसँग जे छ त्यसैमा खुसी हुने गरेको र आफूले जीवनमा पाएका कुराबाट सन्तुष्ट रहेको बताउँछन् । आफूलाई जीवनमा धेरै कुराको अभाव छ भन्ने नलागेको बताउँदै उनी भन्छन्, ‘म के विश्वास गर्छु भने हिजो राम्रो गर्‍यो भने आज राम्रो हुन्छ र आज राम्रो गर्‍यो भने भोली राम्रो हुन्छ । त्यसैले म आजका लागि राम्रो काम गर्छु । सही समयमा सही निर्णय भएका छन्, खुुसी छु ।’