मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२९ वर्षका भए प्रदीप

फिल्मीखबर, काठमाण्डौ, 2021/03/10
२०७२ सालको विनाशकारी भूकम्प धेरैजसो नेपालीका लागि कष्टकर र दुःखदायी बन्यो । कयौंको ज्यान गयो, कयौं बेघर भए । तर, प्रदीप खड्काका लागि भूकम्प अवसर बनेर आएको थियो । आफूले अभिनय र निर्माण गरेको पहिलो फिल्म ‘स्केप’ र निर्माता रहेको फिल्म ‘ठूलो मान्छे’ को असफलताले निराश भएर उनले अष्ट्रेलिया जान कन्सल्टेन्सीमा पासपोर्ट समेत बुझाइसकेका थिए । 
 
त्यही बेला निर्देशक सुदर्शन थापा र निर्माता सन्तोष सेन फिल्म ‘प्रेमगीत’ का लागि हिरोको खोजीमा थिए । यसै क्रममा उनीहरुको नजर प्रदीपमा पर्‍यो । फिल्मको कथाले मागेको पात्रमा उनी फिट हुने देखेपछि लिड हिरोमा साइन गराए । अष्ट्रेलिया जान सुटकेस प्याक गरिसकेका प्रदीपले परिवारसँग एक मौका माग्दै ‘प्रेमगीत’ मा काम गरेका थिए । अन्ततः यसले उनको भाग्य नै बदल्यो ।
 
 
सन् २०१६ मा फिल्म रिलिज भयो । एकै मितिमा अन्य दुई ठूला फिल्मसँँग भिड्नु पर्दा फिल्म व्यापारिक रुपमा सफल हुन सकेन । तर, दर्शक र समीक्षकले फिल्मको कथावस्तु, प्रस्तुती र प्रदीपको अभिनयको मुक्तकण्ठले प्रशंसा गरे । यसपछि प्रदीपको अष्ट्रेलिया जाने बाटो मोडियो र नेपाली फिल्मको स्टारको रुपमा उदाए । आज उनी नेपाली फिल्मका महंगा अभिनेतामा गनिन्छन् ।
 
उनै, प्रदीप बुधवारबाट २९ वर्षमा प्रवेश गरेका छन् । ललितपुरको कुसुन्तीमा सन् १९९२ (२०४८) मार्च १० मा माता सारदा खड्का र पिता टेक बहादुर खड्काको कोखबाट जन्मिएका उनी नेपाली फिल्म क्षेत्रका पढेलेखेका कलाकारमध्ये एक मानिन्छन् । उनले सिक्किम मनिपाल युनिभर्सिटिबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध फाउन्डेसनबाट सन् २०१७ मा मार्केटिङमा मास्टर्स गरेका थिए । 
 
‘प्रेमगीत’ पछि यसकै दोस्रो सिरिजमा काम गरेका उनले ‘लिलिबिली, रोज, लभ स्टेशन’ फिल्ममा पनि अभिनय गरिसकेका छन् । उनी अभिनीत ‘प्रेमगीत ३’ प्रदर्शनका पखाईमा छ भने चाँडै फिल्म ‘प्रकाश’ को छायांकनमा व्यस्त हुँदैछन् । उनले ‘हुतुतु’ र हेमराज विसीको फिल्म पनि साइन गरेर बसेका छन् । केही वर्षयता उनलाई फिल्ममा लिन निर्माताबीच हानाथाप हुने गरेको छ ।
 
अभिनेता प्रदीप खड्कालाई फिल्मीखबरको तर्फबाट जन्मदिनको शुभकामना ।