मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५७ वर्षकी भइन् मिथिला शर्मा

फिल्मीखबर, काठमाडौं, 2020/10/16
 
अभिनयमा पारंगत मानिने अभिनेत्री मिथिला शर्मा शुक्रवारबाट ५७औं वर्षमा प्रवेश गरेकी छन् । २०२० साल असोज ३० गते काठमाडौंमा जन्मिएकी उनले वि.सं. २०४२ सालमा चेतन कार्कीको निर्देशनमा बनेको फिल्म ‘विश्वास’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । ३५ वर्षदेखि अभिनयमा सक्रिय रहेकी उनी आफूले पाएको भूमिकालाई प्राण दिन कत्ति पनि कञ्जुस्याइँ गर्दिनन् ।
 
डेढ सय बढी फिल्म र केही नाटकमा आफ्नो अभिनय कौशल प्रस्तुत गरिसकेकी मिथिला शर्मा पछिल्लो समय अभिनेता तथा अभिनेत्रीको आमाको भूमिकामा देखिँदै आएकी छन् । फिल्ममा उनी भएपछि अरु कलाकार छायाँमा पर्ने चर्चा समेत हुने गरेको छ । उनी आफ्नो अभिनयले दर्शकलाई हलमा बाँधेर राख्न सिपालु छिन् । पछिल्लो पटक उनी फिल्म ‘आमा’ मा देखिएकी थिइन् । 
 
स्थिति सामान्य हुन्थ्यो भने यतिबेला उनलाई देशभित्र हुने अवार्ड कार्यक्रममा फिल्म ‘आमा’ बाट चरित्र अभिनेत्रीको रुपमा अवार्ड थाप्न भ्याइ नभ्याइ हुन्थ्यो । यो फिल्ममा उनले जीवन्त अभिनय गरेकी थिइन् । उनको मनछुने अभिनयले फिल्मलाई प्राण भरेको थियो । ‘आमा’ ले आफ्नो परिचय बदलेको बताउने मिथिला शर्मा यो फिल्मलाई आफ्नो करिअरको दोस्रो टर्निङ पोइन्ट मान्छिन् ।
 
स्वर्गीय शिव रेग्मी निर्देशित फिल्म ‘सुख-दुःख’ मा अभिनय गरेपछि मिथिला शर्माको करिअरले उचाइ दिएको थियो । त्यस्तै, फिल्म ‘मुकुन्डो’ मा ‘गीता’ को भूमिकाले उनलाई अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याती दिलाएको थियो । अभिनयसँगै नृत्यमा पनि अब्बल मानिने मिथिलाले ९ वर्षको उमेरमा गोपाल योन्जानको गीतमा स्वर्गीय राजा वीरेन्द्र शाहको अगाडि नृत्य प्रस्तुत गरेकी थिइन् । 
 
पर्दामा प्रायः दुःखी महिलाको भूमिकामा देखिएकी उनले ‘विश्वास, पच्चिस बसन्त, भुमरी, चेली बेटी, अधिकार, लहना, जे भयो राम्रो भो, मुग्लान, दुनियाँ, नाईं नभन्नू ल, मिस्टर मंगले, आधा लभ, अझै पनि, मंगलम, कोहिनूर, उमा’ लगायतका फिल्ममा जीवन्त अभिनय गरेकी छन् । उनले ५० वर्षको उमेरमा सन् २०१४ मा नेपालका पूर्व आईजीपी मोतीलाल बोहोरासँग विवाह गरेकी थिइन् ।