.jpg)
काठमाडौं । बलिउड सुपरस्टार सलमान खान चाँडै वार ड्रामा फिल्म ‘मातृभूमिः मे वार रेस्ट इन पीस’मा देखिँदैछन् । यतिबेला यही फिल्मको प्रचारमा व्यस्त रहेका उनले शुक्रबार हैदराबादमा आयोजित ‘एबीपी राइजिङ समिट २०२६’मा सहभागी हुने क्रममा ‘दबंग’को चौथौ श्रृंखलाबारे महत्त्वपूर्ण जानकारी दिए । उनले ‘दबंग ४’ निर्माण हुने स्पष्ट पारेका छन् ।
‘बजरंगी भाइजान’, ‘किक’, ‘दबंग’ र ‘एक था टाइगर’जस्ता फिल्मका आगामी श्रृंखला कहिले हेर्न पाइन्छ भन्ने सहजकर्ताको प्रश्नमा सलमानले ‘दबंग ४’ बन्नेमा कुनै शंका नरहेको बताए । उनले भने, ‘दबंग’ ढिलोचाँडो पक्कै आउँछ, किनकि त्यो हाम्रो हातमा छ । बाँकी फिल्महरू निर्माताको हातमा छन् । यसैले ती फिल्मका सिक्वेल बन्छन् कि बन्दैनन् भन्ने मलाई नै थाहा छैन ।’
उनले ‘बजरंगी भाइजान’को भने सिक्वेल नबन्ने संकेत गरे । ‘बजरंगीमा आधारित अर्को फिल्म बनाउनु भावनात्मक रूपमा सम्भव छ जस्तो मलाई लाग्दैन । दोस्रो फिल्मको तुलना पहिलोसँग हुन थाल्यो र दर्शकले पहिले जति मजा आएन भन्न थाले भने त्यो उचित हुँदैन । त्यसैले ‘बजरंगी भाइजान’को अर्को भाग बन्छ जस्तो मलाई चाहिँ लाग्दैन,’ उनले भने ।
सलमानले ‘मातृभूमि’लाई ‘बजरंगी भाइजान’सँग तुलना गर्दै दुवै फिल्मको भावनात्मक पक्ष मिल्दोजुल्दो रहेको बताए । उनले भने, ‘तपाईंले जसरी ‘बजरंगी भाइजान’ हेर्नुभएको थियो, यो फिल्म पनि त्यस्तै प्रकृतिको छ । यो भारतको सीमा क्षेत्रमा घटेको एउटा घटना र त्यसले सैनिक तथा उनीहरूको परिवारमा पारेको प्रभावमा आधारित छ । दर्शकलाई फिल्म अवश्य मन पर्नेछ ।’

