Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बालेनलक्षित राजेश हमालको टिप्पणी : ‘दूरदृष्टि नहुँदा राष्ट्रले चुनौती सामना गर्नुपर्छ’

फिल्मीखबर, काठमाडौं, 2026/06/05

Rajesh Hamal

 

केही दिनअघि प्रतिनिधि सभा (संसद्)को बैठकमा ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको यतिबेला चौतर्फी आलोचना र विरोध भइरहेको छ । यो विषयमा उनले माफी माग्नुपर्ने आवाज उठिरहँदा अभिनेता राजेश हमालले पनि प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति टिप्पणी गर्दै त्यसलाई दूरदृष्टिको अभाव भनेका छन् । 

उनले शुक्रबार दिउँसो फेसबुकमा एक पोस्ट लेख्दै सीमापार अतिक्रमण र राज्य–प्रायोजित भू–अतिक्रमण एउटै अर्थमा बुझिए पनि वास्तवमा यी दुवै फरक प्रकृतिका विषय रहेको उल्लेख गरेका छन् । सीमापार अतिक्रमण प्रायः सरकारभन्दा बढी स्थानीय नागरिकसँग सम्बन्धित हुने र त्यसको समाधान संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट सम्भव हुने उनको तर्क छ । 

राज्य–प्रायोजित भू–अतिक्रमणको प्रकृति भने पूर्णतः फरक हुने उल्लेख गर्दै उनले भनेका छन्, ‘यो त्यतिबेला हुन्छ, जब कुनै राष्ट्र स्वयं विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न वा कायम राख्न प्रत्यक्ष रूपमा सक्रिय हुन्छ । यहाँ व्यक्तिहरू होइन, राज्यका संस्थाहरू संलग्न हुन्छन् ।’ उनले यसको उदाहरण कालापानी–लिपुलेक–लिम्पियाधुरा रहेको बताएका छन् । 

अहिलेको विश्व राजनीतिक परिवेशमा राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा दूरदृष्टि हुनुपर्ने धारणा व्यक्त गर्दै उनले अगाडि लेखेका छन्, ‘आजको डामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।’