भारतलाई विश्वको ठूलो फिल्म बजार मानिन्छ । घरेलु र हलिउड फिल्महरुले वर्षेनि भारतमा अर्बौंको व्यापार गर्दै आइरहेका छन् । सन् २०१७ मा ‘बाहुबली २’ले मात्र भारतमा एक हजार करोड कमाएको थियो । ‘अवतार’, ‘एभेन्जर्स इन्ड गेम’ जस्ता हलिउड फिल्मले पनि भारतमा ४ सय करोडमाथि कमाएका थिए । यसले पनि भारतीय बजारको आयतन कति ठूलो छ भन्ने देखाउँछ ।
तर, छिमेकी राष्ट्र भए पनि भारतीय बजारमा नेपाली फिल्मले भने प्रवेश पाउन सकेका थिएनन् । त्यहाँ नेपाली फिल्म च्यारिटी शोमै सीमित थिए । तर, २०७९ सालमा निर्माता सन्तोष सेनको समूहले फिल्म ‘प्रेमगीत ३’लाई हिन्दी भाषामा स्वरांकन गरेर भारतको बक्स अफिसमै रिलिज गरेको थियो । हिन्दी भाषामा भारतका हलमा रिलिज हुने यो नै पहिलो नेपाली फिल्म हो ।
भलै भारतमा ‘प्रेमगीत ३’ले अपेक्षित व्यापार गर्न सकेन । तर, यो नेपाली फिल्मका लागि निकै ठूलो उपलब्धि थियो । भारतका हलमा नेपाली फिल्म लगाउन सम्भव छैन भन्ने बुझाइलाई ‘प्रेमगीत ३’ले गलत सावित गरिदियो । यसपछि नेपाली फिल्मलाई हिन्दी भाषामा डब गर्ने ट्रेन्ड नै चलेको छ । र, भारतका हलमा रिलिजका लागि पनि प्रयास भइरहेका छन् । यसको जस ‘प्रेमगीत ३’लाई नै जान्छ ।
जसरी ‘प्रेमगीत ३’ले भारतका हलमा नेपाली फिल्म रिलिजका लागि मार्ग प्रशस्त गर्यो, त्यसरी नै यतिबेला ‘ह्रस्व दीर्घ’ले भारतमा अर्को बाटो खोलेको छ । भारतीय कम्पनी जी-नेटवर्कले यो फिल्मको ओटीटी र स्याटेलाइट (टिभी) राइट्स खरिद गरेको छ । भारतीय ओटीटी र टेलिभिजनमा रिलिज हुने यो पहिलो नेपाली फिल्म हुनेछ । नेपाली फिल्म क्षेत्रका लागि यो ठूलो उपलब्धि हो ।
‘ह्रस्व दीर्घ’को राइट्स जी-नेटवर्कले खरिद गर्नुमा दक्षिण भारतीय कलाकारहरुको अभिनय मुख्य कारण भए पनि यसले नेपाली फिल्मलाई भारतीय टेलिभिजन र ओटीटी प्लाटफर्ममा रिलिजका लागि बाटो खुलाएको छ । जी-नेटवर्कको ‘जी फाइभ’ ओटीटी प्लाटफर्म १९० देशमा उपलब्ध भएकाले ‘ह्रस्व दीर्घ’मार्फत् नेपाली फिल्मलाई विश्वभरका दर्शकसम्म पुर्याउने यो राम्रो अवसर हो ।
‘प्रेमगीत ३’ र ‘ह्रस्व दीर्घ’ले भारतमा नेपाली फिल्मका लागि जुन बाटो खोलेका छन्, त्यो प्रशंसनीय छ । अब गुणस्तरमा ध्यान दिन सक्ने हो भने भारत नेपाली फिल्मका लागि बलियो बजार बन्न सक्छ । भारतमा फिल्मको ओटीटी, स्याटेलाइट र म्यूजिक राइट्स बेचेरै पनि करोडौं आम्दानी गर्न सक्ने अवस्था छ । यसका लागि अब फिल्मको कथावाचन र मेकिङमा मिहिनेत गर्न जरुरी छ ।
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
भारतमा ‘प्रेमगीत ३’ र ‘ह्रस्व दीर्घ’ले खोलेको ढोका
फिल्मीखबर, काठमाडौं, 2024/12/12
- ‘मितज्यू’ हेरेपछि नवीन सुब्बाले भने- ‘सौगात र दयाहाङको खारिएको काम’
- ‘गंगा रानी’मा रानी बन्दै वर्षा
- युवापुस्ताको कथामा ‘ल्याङ्ग ल्याङ्ग’ बनाउँदै बलिराम
- रणवीर सिंहलाई कर्मचारी महासंघले लगायो प्रतिबन्ध
- ‘काजी’को असारे गीतमा गरिमा र सन्दीपको प्रेमालाप
- आँचलको फिल्मभन्दा सुरक्षाको फिल्मको कमाइ ५ गुणाले बढी
- हरिवंशले सकाए ‘पाँच पाण्डव’को छायांकन, रिलिज तिहारमा
- सस्तो टिकट हुँदा पनि अनन्याको फिल्मलाई दर्शकको हाहाकार
- ‘एलिफेन्ट्स इन द फग’को टोलीलाई स्वागत गर्दै सञ्चारमन्त्रीले गरे साढे २ लाख दिने घोषणा
- ‘आ बाट आमा २’मा भित्रिइन् रिश्ता, कसको बन्दैछिन् जोडी ?
Most Visited News (monthly)

