मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

फरक शैलीमा ‘मनसरा’को प्रचार, पूर्वमा कविता सुनाउँदै उपेन्द्र

फिल्मीखबर, काठमाडौं, 2024/04/25

Upendra-Subba

 

नेपाली फिल्ममा फरक र पृथक प्रचार शैलीको खडेरी नै छ । लगभग हरेक फिल्मले एउटै प्रचार शैली अपनाइरहेका हुन्छन् । कि कुनै प्रतियोगिता घोषणा कि त पत्रकार भेटघाट, यत्तिमै सीमित हुन्छ । जसले गर्दा फिल्मप्रति दर्शकको आकर्षण पनि खासै बढ्न सकेको देखिँदैन । यही बैशाख २१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मनसरा’ले भने प्रचारमा फरक शैली अपनाएको छ ।

यतिबेला फिल्मको टिमले देशव्यापी ‘कविता कन्सर्ट’ गरिरहेको छ । फिल्मका निर्देशक उपेन्द्र सुब्बा आफैं नामचिन कवि भएकाले कन्सर्ट अझ विशेष बनेको छ । पूर्वको बिर्तामोडबाट सुरु भएको कन्सर्ट इटहरी पुगेर सकिनेछ । बुधबार बिर्तामोडको क्यूएफएक्स हलमा साहित्यिक माहोल बनेको थियो । त्यहाँ कवि सुब्बाले आफ्ना आधा दर्जन कविता सुनाए । र, ‘मनसरा’ हेर्न निम्तो पनि दिए ।

कार्यक्रममा अभिनेत्री मिरुना मगरले आफ्नी आमाले लेखेको एउटा कविता सुनाएकी थिइन् भने कलाकारहरु मेनुका प्रधान, प्रवीण खतिवडा र जीवन बरालले कवि सुब्बाका कविता वाचन गरेका थिए । बुधबार बिर्तामोडसँगै उर्लाबारीमा पनि कन्सर्ट गरियो । अब बैशाख १३ गते दमक र धरानमा र बैशाख १४ गते इटहरी र बेलबारीमा ‘कविता कन्सर्ट’ हुने निर्माता शैलेन्द्र ध्वज कार्कीले बताए ।

 

Upendra-Subba


अन्तरजातीय सम्बन्धको कथामा बनेको ‘मनसरा’मा मिरुना, मेनुका, प्रवीण, जीवनका साथै दयाहाङ राई, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतको अभिनय छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मलाई निर्माता कार्की आफैंले छायांकन गरेका हुन् । फिल्मको सह-निर्मातामा भने विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ छन् ।