मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बुधबार पनि आक्रामक ‘बोक्सीको घर’, बन्यो ‘हिट’

फिल्मीखबर, काठमाडौं, 2024/05/01

keki adhikari

 

नेपालीमा एउटा चर्चित उखान छ, ‘नपत्याउने खोलाले पनि बगाउँछ ।’ यतिबेला फिल्म ‘बोक्सीको घर’को व्यापारले यो उखानलाई चरितार्थ गरिदिएको छ । न सिक्वेल फिल्म न ठूलो स्टारकास्ट । न प्रचारमा धुमधडका । रिलिजपूर्व जे-जति चर्चा थियो, त्यो ‘बुझिनँ मैले’ गीतका कारण थियो । तर, फिल्म प्रदर्शनमा आएपछि जुन रुपमा व्यापार भइरहेको छ, त्यसले धेरैलाई आश्चर्यमा पारेको छ ।

फिल्मले ‘ओपनिङ’ नै अनपेक्षित गर्‍यो । शनिबारको व्यापारमा झनै ठूलो उछाल देखियो । आइतबारबाट कामकाजी दिन सुरु हुँदा व्यापारमा केही गिरावट आए पनि कमजोर भने थिएन । बुधबार (आज) मजदुर दिवसमा फिल्मले एकपटक फेरि हलमा दर्शकको मेला लगाएको छ । फिल्मले बिहानैदेखि देशभर उत्साहजनक दर्शक पाएको छ । कति हलमा टिकट समेत अभाव देखिएको छ ।

चार दिन अर्थात् शुक्रबारदेखि सोमबारसम्ममा ३ करोड २४ लाख कमाएको फिल्मले बुधबार मात्र डेढ करोड हाराहारी कमाई गर्ने आँकलन गरिएको छ । प्रदर्शनको दुई दिनमा नै लगानी सुरक्षित गरेको फिल्म एक हप्ता पनि नवित्दै यस वर्षको ‘हिट’ बनेको छ । हलमा विशेषगरी महिला दर्शकको उपस्थिति बढी देखिन्छ । ‘बुझिनँ मैले’ गीतले पनि फिल्मप्रति दर्शकको आकर्षण बढाएको छ ।

यसबीच, बुधबार फिल्मको नयाँ गीत ‘जिन्दगी’ रिलिज गरिएको छ । फिल्मका निर्देशक तथा लेखक सुलक्षण भारतीको शब्द रचना रहेको गीतमा निहारिका र स्वीरितिको गायन छ भने मोनिसा निरौलाको संगीत छ । यो गीतले बाल कलाकार सुपला सापकोटाको मनोविज्ञान र मनोभावलाई दर्शाएको छ । फिल्ममा सुपलसँगै केकी अधिकारी, स्वेच्छा राउत, रमा थपलिया आदिको अभिनय छ ।