
पहिलो चरणको कोरोना महामारीअघि पोखराको एक गाउँमा फिल्म ‘२ नम्बरी’ को छायांकन भइरहेको थियो । त्यसैबेला संक्रमण रोकथामका लागि सरकारले २५ जनाभन्दा बढीको उपस्थितिमा छायांकन नगर्न भनेपछि फिल्मको अधुरैमा छायांकन रोकियो । यसपछि निर्माण टिमले पटक-पटक पुनः छायांकनको प्रयास नगरेको होइन । तर, कोरोनाका कारण छायांकन सम्भव हुन सकेन ।
अब भने चैत पहिलो साताबाट फिल्मको छायांकन सुरु गर्ने तयारी गरिएको छ । फेरि सुरुबाटै छायांकन गर्न लागिएको फिल्ममा लोकेशनसँगै केही कलाकार पनि हेरफेर हुनेछन् । फिल्मको केही प्रतिशत छायांकन गरिसकेका अभिनेता तथा मोडल पल शाह जबर्जस्ती करणीको आरोपमा प्रहरी हिरासतमा भएकाले उनको ठाउँमा निर्माण टिमले अरु नायकलाई लिने तयारी गरेको छ ।
निर्देशक दीपेन्द्र लामाले केही दिनमा फिल्मका लागि मुख्य नायकको टुंगो लाग्ने जानकारी दिए । ‘निर्माता र वितरकको टिमबाट चलेकै कलाकार राख्ने कुरा आएको छ । तर, अहिले नै को कलाकार राख्ने भन्नेमा निधो भइसकेको छ । कथावस्तु अनुसार सुहाउने पात्र र बजेट अनुसार सोच्नुपर्ने हुन्छ । अबको एक हप्तामा को कलाकार रहने भन्नेमा टुंगो लाग्न सक्नेछ,’ निर्देशक लामाले भने ।
फिल्ममा जयनन्द लामा पनि कलाकारको रुपमा थिए । तर, कलाकार लामाको यसै साता निधन भएकाले उनको ठाउँमा पनि अरु कलाकारको खोजी भइरहेको बताइएको छ । फिल्ममा दयाहाङ राई, उगेन छोदेन (भुटानी अभिनेत्री), वर्षा राउत लगायत भने यथावत् छन् । निर्देशक लामाकै कथा रहेको फिल्मको निर्मातामा रोहित कट्टेल/सरोज नेपाली र प्रस्तुतकर्तामा किरण नेपाली छन् ।

