
पिरियड ड्रामा बनाउन खप्पिस मानिने बलिउडका भेट्रान निर्देशक सञ्जय लीला भंसालीको निर्देशनमा बनेको अभिनेत्री आलिया भट्ट अभिनीत फिल्म ‘गंगूबाई काठियावाडी’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । समीक्षकले पनि फिल्म निकै रुचाएका छन् । घरेलू (भारत) बक्सअफिसमा सुखद् व्यापार गरिरहेको फिल्मले ओभरसिज मार्केट (विदेश) मा पनि राम्रो अंक जोडेको छ ।
शुक्रवारबाट ‘गंगूबाई काठियावाडी’ सँगै साउथका दुई ठूला फिल्म ‘वलिमै’ र ‘भीमला नायक’ एकसाथ प्रदर्शनमा आएका थिए । तामिलनाडू क्षेत्रमा साउथका यी दुई फिल्मले एकछत्र राज गरेका छन् । जसले गर्दा घरेलू बजारमा ‘गंगूबाई काठियावाडी’ भन्दा साउथका दुई फिल्मको कलेक्सन धेरैले माथि छ । तर, ओभरसिजको व्यापारमा साउथका दुई फिल्म केही पछाडि परेका छन् ।
यूके र आयरल्यान्डमा ‘गंगूबाई काठियावाडी’ले २ करोड २६ लाख र अष्ट्रेलियामा २ करोड ५ लाख छापेको छ । पवन कल्याणको ‘भीमला नायक’ले यूके र आयरल्यान्डमा १ करोड ३९ लाख र अष्ट्रेलियामा १ करोड ५८ लाख कमाएको छ । त्यस्तै, अजित कुमार अभिनीत ‘वलिमै’ले यूके र आयरल्यान्डमा १ करोड १४ लाख र अष्ट्रेलियामा ९७ लाख ४७ हजार कमाउन सफल भएको छ ।
बलियो माउथ पब्लिसिटीका कारण नेपालमा पनि ‘वलिमै’ र ‘गंगूबाई काठियावाडी’ले राम्रो कमाई गरिरहेका छन् । शनिवार र मंगलवार शिवरात्रीको सार्वजनिक विदामा यी दुवै फिल्मको कमाई आक्रामक थियो । ‘भीमला नायक’ भने नेपाल आएको छैन । कोरोनाले थलिएको बलिउड र साउथ इन्डस्ट्रीलाई पुरानै गतिमा फर्काउन यी तीन फिल्मले सञ्जीवनी बुटीको काम गरेको छ ।

