
यूक्रेनमाथि रुसले गरेको सैन्य आक्रमणपछि हलिउडको प्रतिष्ठित कम्पनी डिज्नी स्टूडियोले ठूलो फैसला गरेको छ । डिज्नीले रुसमा आफ्नो सबै फिल्मको रिलिज रोकेको छ । यो निर्णय गर्ने डिज्नी पहिलो हलिउड स्टूडियो हो । त्यस्तै, रोबर्ट प्याटिसन स्टारर फिल्म ‘द ब्याटम्यान’ का निर्माताले पनि रुसमा फिल्म नचलाउने निर्णय गरेका छन् । रुसलाई हलिउड फिल्मको ठूलो बजार मानिन्छ ।
डिज्नी स्टूडियोले आफ्नो बयानमा भनेको छ, ‘रसियाले यूक्रेनमा बिना मतलबको युद्ध सुरु गरेको छ र यो एकदमै दुखद् कुरा हो । यो मानवीय संकटलाई देख्दै ‘टर्निङ रेड’ सहित हाम्रो अरु सम्पूर्ण फिल्मलाई रुसमा रिलिज नगर्ने निर्णय गरेका छौं । ‘टर्निङ रेड’ मार्च १० मा रिलिज हुँदैछ तर अब रुसमा रिलिज हुने छैन ।’ डिज्नीले प्रायः थ्रीडी कम्प्युटर एनिमेटेड फिल्म बनाउँदै आएको छ ।
त्यस्तै, ‘ब्याटम्यान’ यही ४ मार्चबाट उत्तरी अमेरिकासहित कयौं विदेशी क्षेत्रमा रिलिज हुँदैछ । यसमा रुस पनि सामेल थियो । तर, स्टूडियोका एक प्रवक्ताले अब रुसमा फिल्म रिलिज नहुने जानकारी दिएका छन् । यूक्रेनमा मानवीय संकटका कारण रुसमा ‘द ब्याटम्यान’ को प्रदर्शन रोकेको उनले बताए । म्याट रीव्सको निर्देशनमा बनेको यो फिल्म ‘ब्याटम्यान’ फ्रेन्चाइजको रीबूट हो ।

