Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘निफ’को पाँचौ संस्करणमा एरिक भ्याली देखी राजकुमार हिरानीसम्म आउने सम्भावना

फिल्मीखबर, काठमाडौं, 2022/02/28
यही चैत्र १७ देखि २१ सम्म ‘विश्वभरीका कथाहरुको उत्सव, नेपाल अन्तराष्ट्रिय फिल्म महोत्सव’ भन्ने नाराका साथ ‘पाचौं नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) २०२२’ आयोजना हुने भएको छ । सोमवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक रुपमा हुने जानकारी गराईएको छ ।
 
यसअघि चैत्र १० देखि १४ गते सम्म हुने अएकोमा प्राविधिक कारणले मिति परिवर्तन गरिएको बताईएको छ । पछिल्लो कोरोना महामारीको कारण भर्चुअल रुपमा आयोजना गरिएको थियो । यसपटकको फेस्टिभलमा ३८ देशका ८९ फिल्महरुबीच प्रतिष्पर्धा हुनेछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरुबीच ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने जनाईएको छ। 
 
अन्तराष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत ‘गौतम बुद्ध बेष्ट न्यारेटिभ फिचर फिल्म (१५०० अमेरिकी डलर र ट्रफी), ‘माउन्ट एभरेष्ट बेष्ट डकुमेन्ट्री फिल्म (१००० अमेरिकी डलर र ट्रफी)’, ‘बागमती बेष्ट लाईभ एक्शन सर्ट फिल्म (५०० अमेरिकी डलर र ट्रफी)’ र ‘मन्जुश्री बेष्ट एनिमेटेड सर्ट फिल्म (५०० अमेरिकी डलर र ट्रफी) रहेका छन् ।
 
राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत ‘बेष्ट फिचर फिल्म (रु. १,००,००० र ट्रफी), ‘बेष्ट सर्ट फिल्म (रु. ५०,००० र ट्रफी)’, ‘बेष्ट डकुमेन्ट्री (रु. ५०,००० र ट्रफी), ‘बेष्ट सर्ट फिल्म डिरेक्शन (ट्रफी)’, ‘बेष्ट फिचर फिल्म सिनेमाटोग्राफी (ट्रफी)’, ‘बेष्ट फिचर फिल्म स्क्रिनराईटर (ट्रफी)’, ‘बेष्ट फिचर फिल्म मेल/फिमेल एक्टर (ट्रफी)’ तथा ‘IFFS Don Quixote बेष्ट लाई एक्शन फिचर फिल्म अवार्ड (सर्टिफिकेट) हरु रहेका छन् ।
 
 
फेस्टिभलमा भौतिक रुपमा प्रदर्शन हुनुको साथै अनलाइन माध्यमबाट पनि केहि फिल्महरु प्रदर्शन हुनेछन् । फेस्टिभल अवधिमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरुको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम समेत सञ्चालन हुने बताईएको छ ।
 
फेस्टिभलको इन्टरनेशनल जुरी तथा मास्टरक्लासको लागि हलिउड निर्देशक एरिक भ्याली र बलिउड निर्देशक राजकुमार हिरानीसँग कुरा भएको र आउने सम्भावना रहेको फेस्टिभलका अध्यक्ष के.पि. पाठकले बताए । फेस्टिभलका फिल्म छनौट समितिमा दीपक बज्राचार्य, शिवम अधिकारी, पुरु लम्साल, सुर्य श्रेष्ठ, यादव भट्टराई र संगीता श्रेष्ठ रहेका छन् ।
 
पत्रकार सम्मेलनमा फिल्म विकास वोर्डका अध्यक्ष दयाराम दाहालले यो फेस्टिभलले हाम्रो परिवेश तथा कथाहरुलाई अन्तराष्ट्रिय स्तरमा मजबुत पहिचान दिलाएको बताए । यस्ता प्रकृतिका कार्यक्रमहरु वोर्डले नै गर्नुपर्ने भन्दै दाहालले आफुले संचार तथा सुचना प्रविधि मन्त्रालयमा प्रस्ताव राखेको र स्विकृतको चरणमा रहेको बताए । विदेशी फिल्मसँगको प्रतिष्पर्धाको होडमा हाम्रा कन्टेन्टहरु कमजोर हुन पुगेको भन्दै दाहालले नीतिको भन्दा कन्टेन्टको महत्व रहेको जिकिर गरे ।
 
फेस्टिभलको अघिल्लो संस्करणका निर्णायक निर्देशक तुलसी घिमिरेले अन्तराष्ट्रिय बजारमा नेपाली फिल्मलाई पुर्‍याउन फेस्टिभलले सहयोग गर्ने बताए । फेस्टिभलका सल्लाहकार कलाकार तथा निर्देशक नीर शाहले यस प्रकारका कार्यक्रमहरुले फिल्मकर्मीहरु मात्र होईन सम्पुर्ण समुदाय नै लाभान्वित हुनसक्ने बताए ।
Most Visited News (monthly)