एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि चार दिनसम्म लुकेर बसेका अभिनेता पल शाहले आइतवार प्रहरीसमक्ष आत्मसमर्पण गरे । उनलाई हिजै प्रहरीले हतकडी लगाएर म्याद थपका लागि अदालत लगेको थियो । अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । यतिबेला पल अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनरत छ ।
.jpg)
अहिले पल शाहले वास्तविक जीवनमा जुन समय विताइरहेका छन्, त्यससँग फिल्मको कथावस्तु पनि लगभग मिल्दोजुल्दो छ । फिल्ममा उनको नाम ’पल’ नै छ । वास्तविक जीवनमा फिल्मको स्टार रहेका उनी फिल्ममा चर्चित गायकको रुपमा प्रस्तुत छन् । फिल्मको क्लाइमेक्समा प्रहरीले उनलाई पक्राउ गरेको दृश्य समावेश छ, जुन उनको वास्तविक जीवनसँग दुरुस्तै मेल खाएको छ ।
फिल्ममा पललाई प्रहरीले हतकडी लगाएर पक्राउ गरेको दृश्य समावेश गीत सोमवार निर्माण टिमले सार्वजनिक गरेको छ । ‘पीडा भएनी खुसी भएनी’ बोलको गीतको भिडियोमा पूजा शर्मा गायिकाको रुपमा स्टेजमा गीत गाइरहेकी छन् भने पल हतकडीसहित प्रहरीको साथमा उनको कन्सर्ट हेर्न पुगेका छन् । तर, प्रहरीले ‘समय सकियो’ भन्दै पललाई पूरा गीत सुन्न नदिँदै जेल लैजान्छ ।
दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतमा अञ्जु पन्तको स्वर छ । गीतको अडियो अत्यन्त मनछुने र बलियो छ । फिल्ममा यो गीतले विशेष महत्त्व राखेको छ । कथावाचनको रुपमा प्रयोग गरिएको गीतले फिल्म हेरिरहँदा दर्शकका आँखा समेत रसाउँछ । सुदर्शन थापा निर्देशित फिल्ममा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल लगायतको पनि अभिनय छ ।

