फिल्म मेकिङमा विशेष ध्यान दिने निर्देशक र निर्माता नेपालमा औंलामा गन्न सकिने मात्र छन् । प्रायः फिल्ममा निर्माताको खल्ती हेरेर निर्देशकले काम गर्नुपर्ने हुन्छ । जसले गर्दा कथावस्तुले मागेको कुरा पनि निस्कन पाउँदैन । फिल्म निर्माण गर्नुअघि ठूलो सपना देख्ने तर छायांकन सुरु भएपछि ‘डटपेन’ किन्नु पर्यो भने पनि सात्तो जाने प्रवृतिले प्रायः फिल्म कमजोर बन्ने गरेका छन् ।
तर, निर्देशक मुकुन्द भट्टको फिल्म हेर्ने हो भने अरु निर्माताको पनि सात्तो जान्छ । उनी सकभर नेपालमा छायांकन नै गर्दैनन् । विदेशी भूमिमा जम्बो टोली लिएर महिनौं दिनसम्म फिल्मको छायांकन गर्छन् । फिल्मले मागेको कुरा दिन उनले कुनै कञ्जुसाईं गर्दैनन् । अहिलेसम्म उनले निर्माता पनि मनकारी नै भेटेका छन् । जसले गर्दा उनको फिल्म मेकिङमा एक लेभलको हुने गर्छ ।
.jpg)
उनले फिल्म ‘लप्पन छप्पन’ मा निर्माताको करीब २ करोड खर्च गरे । फागुन २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लप्पन छप्पन २’ पनि ४ करोडभन्दा माथिको लगानीमा बनेको छ । चाँडै मुकुन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्स ९ : लेभल वान’ मा १०-१२ करोडको लागत अनुमान गरिएको छ । उनी आफूले बनाउने फिल्ममा सानोतिनो लगानीले नपुग्ने सहर्ष स्वीकार गर्छन् ।
शुक्रवार पत्रकार भेटघाटमा मुकुन्दले भने- ‘फिल्म बनाउँदा खर्च त भइहाल्छ नी । जे पायो त्यही बनाएर त काम छैन । काम चलाउकै लागि बनाउने हो भने त निर्मातालाई मुर्गा बनाएर अहिलेसम्म मैले १० वटा फिल्म बनाइसक्थेँ होला । म निर्मातालाई के भन्छु भने मेरो फिल्ममा राम्रै खर्च लाग्छ । ४/५ करोड खर्च हुन्छ । फिल्म भनेको विजनेश हो । कसैले घर बेच्छन् कसैले जग्गा ।’
‘लप्पन छप्पन’ देखि मुकुन्दले आफ्नो फिल्ममा सौगात मल्ललाई छुटाएका छैनन् । ‘एक्स ९’ मा पनि सौगात मुख्य भूमिकामा देखिँदैछन् । आफूले सोचेको क्यारेक्टर दुरुस्तै निकाल्ने भएका कारण सौगात मल्लसँग निरन्तर सहकार्य भइरहेको उनको भनाई छ । उनी भन्छन्, ‘सौगात दाई नेपालमा मात्र नभइ बलिउडमा काम गर्नुपर्ने कलाकार हो । उहाँ त्यो स्तरको कलाकार हुनुहुन्छ ।’

मुकुन्दले ‘लप्पन छप्पन २’ ले दर्शकलाई निराश नबनाउने दावी गरेका छन् । पैसा र शक्तिको कथामा निर्माण भएको फिल्मलाई तमिल, तेलुगू लगायतका भाषामा पनि तयार गरेर डिजिटल प्लेटफर्ममा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको छ । फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, स्वर्गीय दीपक क्षेत्री लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

