
एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘हेल्लो जिन्दगी’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट १४ सेकेन्ड लम्बाईको ट्रेलर एक्सन, प्रेम र रोदनले भरिएको छ । अभिनेता विक्रम डि जोशीले विदेशी भूमिमा हासिल गरेको लोभलाग्दो सफलता र जीवनमा एक युवतीको आगमनपछि आउने उचार-चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरबाट प्रस्ट्याउन खोजिएको छ ।
ट्रेलरमा अभिनेत्री द्वय प्रियंका कार्की र दीपिका प्रसाईंसँगै कलाकार विल्सन विक्रम राईले पनि ‘स्क्रिन स्पेश’ पाएका छन् । यसै वर्षको चैत ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा एभरेष्ट सूर्य बोहरा, सबिता गुरुङ, विक्रान्त बस्नेत, सनमकुमार बैराग, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्त लगायतको पनि अभिनय छ । फिल्मको नेपाल र लण्डनमा छायांकन भएको हो ।
सबिता गुरुङ सह-निर्माता र हिराल जोशी र बिक्रम डि जोशी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा सृजना जोशी महर्जन छन् । फिल्मको कथा निर्देशक बोहरा र बिक्रम डि जोशीले लेखेका हुन् भने पटकथा र संवादमा बोहरालाई अभिमन्यु निरवीले सघाएका छन् । फिल्ममा निर्देशक बोहराकै शब्द, राजनराज सिवाकोटी एलिस कार्कीको संगीत र बिष्णु देवाको कोरियोग्राफी छ ।
महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको संयुक्त सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ मा पुरुषोत्तम प्रधानको छायांकन छ भने सम्राट बस्नेतको द्वन्द्व र मित्र डि. गुरुङको सम्पादन रहेको छ । निर्देशक बोहोराका अनुसार, फिल्म सत्य घटनाबाट प्रेरित भएर निर्माण भएको हो । उनले यसअघि फिल्म ‘भैरे’ को निर्देशन गरेका थिए ।

