.jpg)
अभिनेता पल शाहविरुद्ध पीडितले नवलपरासीको गैंडाकोट प्रहरी कार्यालयमा पनि किटानी जाहेरी दिएकी छन् । आइतवार आफन्तहरुको साथमा पुगेकी उनले जबरजस्ती करणीसम्बन्धी कसूरमा पलविरुद्ध जाहेरी दिएकी हुन् । प्रहरीमा दर्ता गराइएको जाहेरी पत्रमा २०७७ चैत ७ गते गैंडाकोटको गैंडाकोट रिसोर्टमा जबरजस्ती करणी गरेको आरोप पल शाहमाथि लगाइएको छ ।
पीडितले दिएको जाहेरीमा पल शाहले जबरजस्ती मादक पदार्थ सेवन गर्न लगाएर करणी गरेको र शाहले जबरजस्ती करणी गर्ने उद्देश्यले रिसोर्टमा थप एक दिन बस्न लगाएको उल्लेख छ । उनै, पीडितले फागुन ११ गते तनहुँको जिल्ला प्रहरी कार्यालयमा पल शाहविरुद्ध जबरजस्ती करणीको आरोपमा जाहेरी दिएकी थिइन् । नवलपरासी र तनहुँमा पीडितका पिताले जाहेरी दिएका हुन् ।
पीडितले तनहुँमा जबरजस्ती करणीको कसूरमा जाहेरी दिएपछि पल शाह फरार थिए । तनहुँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि बुधवारदेखि प्रहरी उनको खोजीमा थियो । यसै शिलशिलामा प्रहरीले पलसँग नजिक रहेका विभिन्न व्यक्तिहरुसँग सोधपुछ समेत गरेको थियो । अन्ततः तीनदेखि फरार रहेका शाहले आइतवार तनहुँ प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् ।

