Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१२ को परीक्षा सकाएकी करिश्माले अध्ययनलाई नरोक्ने

फिल्मीखबर, काठमाडौं, 2021/09/25
 
उमेरले अध्ययन गर्न रोक्दैन भन्ने एउटा उदाहरण हुन्, करिश्मा मानन्धर । फिल्म ‘सन्तान’ बाट डेब्यू गर्दा उनी ८ कक्षामा पढ्दै थिइन्, उमेर भर्खर १४ वर्षको थियो । परिवारको आर्थिक अवस्थाका कारण पनि पढाई छाडेर उनी अभिनयमा होमिइन् । पहिलो फिल्मको सफलतापछि उनले पढाईलाई निरन्तरता दिन सकिनन् । त्यसबेला उनलाई पढाईको आवश्यकता महशुस पनि भएन ।
 
तर, उमेरसँगै पर्दामा निर्वाह गर्ने भूमिका परिवर्तन हुन थालेपछि उनले अधुरै रोकिएको अध्ययनलाई पूरा गर्ने अठोट लिइन् र ५ वर्ष अगाडि मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा कक्षा ८ मा भर्ना भइन् । उनले एसईईसम्मको अध्ययन सोही स्कूलबाट गरिन् । ३ जीपीए लिएर एसईई उत्तीर्ण भएकी उनले प्लस टू (११-१२) पढ्न भने घर (गोदावरी) नजिकै रहेको सरकारी क्याम्पस रोजिन् ।
 
शुक्रवारबाट उनले कक्षा १२ को परीक्षा सकाएकी छन् । धेरैलाई लागेको थियो प्लस टूपछि उनी अध्ययन रोकेर पूर्ववत् अभिनयमा नै सक्रिय हुनेछिन् । तर, उनले अध्ययनलाई नरोक्ने संकेत गरेकी छन् । उनले कक्षा १२ लाई ‘गूड बाई’ भन्दै सँगै पढेका विद्यार्थीसँगको तस्बिरहरु फेसबुकमा साझेदार गर्दै ब्याचलरमा भेट्ने बाचा गरेकी छन् । अर्थात् अब उनी ब्याचलर भर्ना हुनेछिन् ।
 
कुनै बेलाकी निर्विकल्प अभिनेत्री मानन्धर पछिल्लो समय फिल्म अभिनयमा सक्रिय छैनन् । बरु, उनले फुर्सदको समयमा म्यूजिक भिडियोलाई समय दिने गरेकी छन् । उनी चाँडै छोरी कवितालाई मुख्य भूमिकामा लिएर फिल्म ‘बनवास’ निर्माणको तयारीमा छिन् । उनीसँगका अभिनेत्रीहरु पर्दामा आमाको भूमिकामा अभिनय गर्न थालिसके पनि उनले यस्तो भूमिका स्वीकार गरेकी छैनन् ।
 

Most Visited News (monthly)