
सुपरस्टार गोविन्दा र सुनीता आहूजाका एक मात्र छोरा यशवर्धन बलिउडमा डेब्यू गर्नका लागि तयार छन् । तर, कोरोना महामारी र लकडाउनका कारण उनको डेब्यूमा ढिलाइ भएको छ । एक अन्तर्वार्तामा सुनीताले छोरालाई ठूलो पर्दामा हेर्न उत्साहित रहेको बताएकी छन् । गोविन्दाकी छोरी टीना अहुजाले भने २०१५ मा ‘सेकेन्ड ह्यान्ड हज्बेन्ड’ फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् ।
छोराको डेब्यूबारे सुनीताले हालै एक अन्तर्वातामा भनेकी छन्, ‘यशवर्धनको बलिउड डेब्यू लकडाउनका कारण ढिलाइ भएको छ । अहिले हामी केही व्यक्तिसँग छोराको डेब्यूलाई लिएर कुराकानी गरिरहेका छौं । हामी राम्रो प्रोडक्सन हाउस र राम्रो स्टोरीको खोजीमा छौं । किनकि, यो उसको पहिलो फिल्म हुनेछ ।’ अहिले यशवर्धन शरीर बनाउन, अभिनय र डान्स सिक्न व्यस्त छन् ।
सुनीताले छोरालाई यसै वर्ष लञ्च गर्ने गरी तयारी भइरहेको बताएकी छन् । उनले अगाडि भनिन्, ‘यशवर्धन डेब्यूका लागि तयार भइसकेको छ । उसले लण्डनमा डान्स र अभिनय सबै सिकिसकेको छ भने अहिले भारत आएर एक्सरसाइज, जिम गरिरहेको छ । उनलाई कोरियोग्राफर गणेश आचार्यले डान्स सिकाइरहेका छन् । उसलाई रोमान्टिक र एक्सन फिल्ममा काम गर्ने इच्छा छ ।’

