
प्रेम चोपडाको गणना बलिउडमा ती खुंखार भिलेनमा हुने गर्छ, जसलाई दर्शकले वास्तवमै खुंखार भिलेन सम्झने गरेका थिए । बिहीवारबाट ८६ वर्षमा लागेका उनले एक अन्तर्वार्तामा एक समय आफूलाई देखेपछि मान्छेहरु आफ्नी श्रीमती लुकाउने गरेको बताएका थिए । तर, जसले उनलाई देखेपछि आफ्नी श्रीमती लुकाउँथे उनी त्यही व्यक्तिको नजिक गएर खुलेर कुराकानी गर्थे ।
उनले भनेका थिए, ‘मान्छेहरु मलाई देख्न साथ आफ्नी श्रीमती लुकाउँथे । तर, म प्रायः उनीहरुको नजिक गएर कुराकानी गर्थेँ तब उनीहरु अचम्म पर्थे कि म रियलमा उनीहरु जस्तै मानिस हुँ । मान्छेहरु मलाई वास्तवमै खुंखार भिलेन सम्झने गर्दथे तर म यसलाई प्रशंसाको रुपमा लिन्छु र सोच्छु कि मैले आफ्नो काम राम्रोसँग गरेको छु ।’ एक समय उनी भिलेनको रुपमा निर्विकल्प झैँ थिए ।
प्रेम चोपडा ६ भाई बहिनीमध्ये तेस्रो हुन् । १३ सेप्टेम्बर १९३५ मा पास्कितानको लाहौरमा जन्मिएका उनी परिवार विभाजनपछि सिमलामा सिफ्ट भएका थिए र त्यहीँ उनी पढे-हुर्किए । उनले पञ्जाब यूनिभर्सिटीबाट ग्राजुएसन गरेका छन् । त्यसबेला उनी नाटकमा भाग लिन्थे । उनका पिता उनलाई डाक्टर बनाउन चाहन्थे तर ग्राजुएसनपछि मुम्बई आएर उनले बलिउडमा प्रवेश गरे ।
उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘अरु कलाकार जस्तै म पनि सुरुवातमा हिरो बन्न चाहन्थेँ । केही पञ्जाबी फिल्ममा मैले हिरोको रुपमा काम पनि गरेँ तर कुनै फिल्म हिट भएनन् । फ्लप भएपछि इन्डस्ट्रीमा धेरै काम मिल्दैन । त्यसपछि मलाई भिलेनको भूमिका अफर आउन थाल्यो र मैले स्वीकार गरेँ ।’ उनले आफ्नो करिअरमा ३ सय ८० भन्दा बढी बलिउड फिल्ममा काम गरेका छन् ।

