अभिनेता सलोन बस्नेतले अभिनयमा आफूलाई पटक-पटक प्रमाणित गरिसकेका छन् । बाल कलाकारको रुपमा होस् वा पछिल्लो समय नायकको रुपमा नै किन नहोस्, उनले आफ्नो अभिनय कलाबाट दर्शकको मन जितेका छन् । आफ्नै भरमा फिल्म चलाउन सक्ने स्टारडम बनाउन नसके पनि फिल्म हेर्न सिनेमा हलसम्म आएका दर्शकहरुलाई बाँधेर राख्न उनी एक्लै काफी मानिन्छन् ।
उनी एकपटक फेरि पिताले निर्देशन गरेको फिल्म ‘डाँडाको बर पीपल’ मा मुख्य नायकको रुपमा देखिँदैछन् । यही असोज २६ गते (फुलपाती) बाट प्रदर्शन हुन लागेको यस फिल्मको आइतवार पहिलो गीत सार्वजनिक भयो । गीतमा उनले अघिल्लो पुस्ताका शिव श्रेष्ठ, भुवन केसी र गौरी मल्लसँग एकसाथ ठुम्का लगाएका छन् । फिल्ममा उनको जोडी रुविना थापासँँग बाँधिएको छ ।

गीत सार्वजनिक कार्यक्रममा शिव श्रेष्ठ र भुवन केसीबीच उपाधि दिन चलेको प्रतिस्पर्धाले फिल्म क्षेत्रमा तरंग नै ल्याएको छ । जसले गर्दा कार्यक्रममा विशेष रुपमा प्रस्तुत भएका सलोन पूरै ओझेल बने । अग्रजको सम्मानका लागि शिव श्रेष्ठ, भुवन केसी र गौरी मल्लको तस्बिर प्रिन्ट गरेको कोट लगाएर उनी कार्यक्रममा पुगेका थिए । यसको मिडियामा राम्रै चर्चा हुने उनको विश्वास थियो ।
तर, कार्यक्रममा शिव श्रेष्ठ र भुवन केसीले फिल्मको भन्दा ज्यादा ‘महानायक र महानायिका’ को विषयमा आफ्नो भनाई राखेपछि मिडियामा पनि यही विषयले स्थान पायो, सलोनको चर्चै भएन । उनले सुटिङ भइरहँदा नै कार्यक्रममा यस्तो पहिरन लगाउनेबारे सोचेका थिए । त्यसैअनुरुप उनले कोर्ट तयार गरे । तर, माहोल यस्तो बनिदियो कि उनले लगाएको कोर्ट कसैको नजरमै परेन ।
कार्यक्रममा उनले आफूले लगाएको कोटमा शिव श्रेष्ठ, भुवन केसी र गौरी मल्लको तस्बिर प्रिन्ट गर्नुको कारणबारे भनेका थिए, ‘यो फिल्मबाट कमाएको र सिक्न पाएको मान्छेहरुलाई मैले मेरो शरीरमा बोकेर आएको छु । मैले उहाँहरुलाई यो फिल्मबाट कमाएँ । नेपाली फिल्म इन्डस्ट्रीमा भएका कलाकारहरुमध्ये म जति भाग्यमानी सायद कोही छैन होला र हुन पनि सक्ला जस्तो लाग्दैन ।’
भुवन केसी अभिनीत फिल्म ‘करोडपति’ बाट सलोन बाल कलाकारको रुपमा फिल्म क्षेत्रमा भित्रिएका थिए । बाल कलाकारकै रुपमा उनले शिव श्रेष्ठ र गौरी मल्लसँँग पनि केही फिल्ममा अभिनय गरेका छन् । नायक भएर उनले तीनै सुपरस्टारसँँग पहिलो पटक स्क्रिन शेयर गरेको फिल्म भने ‘डाँडाको बर पीपल’ हो । यो फिल्मलाई उनका पिता शोभित बस्नेतले निर्देशन गरेका हुन् ।

