.jpg)
विश्वमै हेर्ने हो भने नाम कहलिएका कलाकारहरुले राजनीतिमा समेत आफ्नो उपस्थिति जनाएका छन् । छिमेकी बलिउडमै सनी देओलदेखि शत्रुघन सिन्हासम्मले राजनीतिमा आफूलाई अब्बल ठहराएका छन् । नेपाली फिल्मका केही कलाकारहरु पनि राजनीतिमा सक्रिय छन् । तर, अभिनयमा जस्तो वाहवाही र सफलता राजनीतिमा हासिल गरेका उदाहरण भने ज्यादै कम छन् ।
नाम चलेका कलाकारलाई विभिन्न राजनीतिक दलहरुले पार्टीको सदस्यता लिन आग्रह गरिरहेका हुन्छन् । चुनाव, सभा-सम्मेलनमा मानिसको भीड जम्मा गर्न र पार्टीको लोकप्रियता देखाउनका लागि पनि राजनीतिक दलहरुले कहलिएका कलाकारलाई सदस्यता दिन जोड गरेको पाइन्छ । चर्चित अभिनेता शिव श्रेष्ठलाई पनि पार्टीको सदस्यता लिन भन्दै बाक्लै प्रस्तावहरु आउने गरेका छन् ।
तर, उनी आफू कहिल्यै राजनीतिमा नआउने बताउँछन् । शिव भन्छन्, ‘मैले राजनीति गर्छु भनेर जीवनमा कहिल्यै सोचेको छैन । राजनीतितिर इच्छा हुन्थ्यो भने कलाकारितालाई निरन्तरता दिने थिइनँ । मलाई के लाग्छ भने सबैले आ-आफ्नो काम गर्नुपर्छ । तर, जुन पेशामा भए पनि सबैले राष्ट्रका लागि काम गर्नुपर्छ । राष्ट्रको काम गर्ने दाहित्व राजनीतिज्ञको मात्र होइन, हामी सबैको हो ।’
केही समयदेखि राजनीतिक तहदेखि सर्वसाधारणसम्म बहसको विषय बनेको एमसीसीबारे पनि उनले आफ्नो धारणा राखेका छन् । जनतालाई नचाहिएको एमसीसी लागू गर्न हुने उनको भनाई छ । अभिनेता श्रेष्ठ भन्छन्, ‘एमसीसीको विषयमा जनताले जे भन्छन् म त्यसैको पक्षमा छु । म जनताको आवाज सुन्ने व्यक्ति हुँ । आम जनताले एमसीसी चाहिँदैन भनेका छन्, म पनि चाहिँदैन भन्छु ।’

