
‘नेपाली जनता’ नामक संस्थाले असोज ३ गते (भोली) काठमाडौंमा राजसंस्था, हिन्दु राष्ट्र र २०४७ सालको संविधान पुनर्स्थापनाको माग गर्दै निकाल्न लागेको र्यालीमा सहभागी हुन अभिनेता शिव श्रेष्ठले एक भिडियोमार्फत आम नागरिकलाई आग्रह गरेपछि उनी विवादमा तानिएका छन् । उनलाई ‘राजावादी’ को संज्ञा दिँदै अहिले सोसल मिडियामा विभिन्न खाले टिका-टिप्पणी भइरहेको छ ।
तर, उनले राजसंस्था पुनर्स्थापनाका लागि आफूले जनतालाई सडकमा उत्रिन आग्रह नगरेको स्पष्ट पारेका छन् । आफूले राष्ट्रका लागि सहभागी हुन आग्रह गरेको बताउँदै उनले फिल्मीखबरसँग भने- ‘मैले राजतन्त्र फर्काउनु पर्छ भनेको छैन । मेरो एउटै कुरा के हो भने पृथ्वीनारायण शाहले आर्जेको देशलाई विदेशीको हातमा सुम्पिनु हुँदैन । यसैको विरोध गर्न सहभागी हुनुस् भनेको हुँ ।’
आफू राजावादी, लोकतन्त्रवादी वा गणतन्त्रवादी नभइ कलाकारवादी रहेको उनले बताए । आजका दिनसम्म कुनै पार्टीसँग आबद्ध नभएको स्पष्ट पार्दै अभिनेता श्रेष्ठले राजतन्त्र राजाले चाहेर पनि नफर्किने तर्क गरे । ‘शिव श्रेष्ठले राजा फर्काउने कदापी होइन । राजा फर्काउन जनता नै चाहिन्छ । यदी देशका लागि राम्रो हुन्छ भने राजा फर्काउनु पनि पर्छ र जनताले फर्काउँछन्,’ उनले भने ।
‘राजा आउँ देश बचाउँ’ भन्ने अधिकार आफूसँग नभएको बताउँदै उनले यसको अधिकार जनतासँग मात्र रहेको र आफू जनताको बोली बोल्ने बताए । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको नासो जनतालाई सुम्पिएका कारण आफ्नो नजरमा पूर्वराजा महान् रहेको उनी बताउँछन् । राजा मेहन्द्रलाई समेत आफूले भेट गर्न पाएको स्मरण गर्दै उनले देश पशुपतिनाथको कृपाले चलिरहेको बताए ।
देशमा जुन तन्त्र आए पनि भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वभिमानमा कहिल्यै आँच आउन नहुने उनको धारणा छ । उनी भन्छन्, ‘देशमा राजतन्त्र, लोकतन्त्र, गणतन्त्र सबै आयो । यो तन्त्रले जनतालाई मन्त्र लगाएर खत्तम बनाएको छ । त्यसैले जुन तन्त्र आए पनि देशको झन्डामुनी हामी सधैं नेपाली भएर बस्न पाउँ ।’ उनले देशमा कुन तन्त्र ल्याउने भन्ने निर्णय जनताले गर्ने बताए ।

