Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हिजो आजका कुरा’ को रिलिज कहिले ?

फिल्मीखबर, काठमाडौं, 2021/09/18
२०७७ बैशाख १२ गतेदेखि प्रदर्शनको तयारीमा थियो, फिल्म ‘हिजो आजका कुरा’ । तर, कोरोनाको संक्रमण फैलिनबाट रोक्न सरकारले ०७६ चैत ५ गतेबाटै सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि फिल्म रिलिज रोकियो । निर्माण टिमले प्रचार-प्रसारमा समेत केही रकम खर्च गरिसकेको थियो । तर, कोरोना महामारीका कारण फिल्म रिलिज हुँदा नपाउँदा निर्माता मारमा परेका छन् । 
 
कोरोनाको दोस्रो लहर सुरु भएपछि फेरि चार महिना बन्द भएका सिनेमा हललाई सरकारले भदौ अन्तिममा सञ्चालनको अनुमति दिएको छ । तर, प्रदर्शनका लागि नयाँ फिल्म नहुँदा सिनेमा हल खुल्न सकेका छैनन् । अहिले वितरक तथा हल व्यवसायीहरुको छाता संस्था नेपाल चलचित्र संघले निर्माण सकिएका फिल्मका निर्मातासँग रिलिजको विषयमा निरन्तर छलफल गरिरहेको छ । 
 
 
‘हिजो आजका कुरा’ लाई दशैं वा त्यसपछि रिलिज गर्नका लागि पनि चलचित्र संघ निमातासँग छलफलमा छ । वितरक र हल व्यवसायीहरुबाट सहयोग मिलेको खण्डमा फिल्म रिलिज गर्न आफूहरु तयार रहेको निर्देशक साकार पन्तले बताएका छन् । हल सञ्चालक र वितरकहरुसँग निरन्तर छलफल भइरहेकाले अब छिट्टै नै दर्शकमाझ फिल्म आउने तयारीमा भइरहेको उनले बताए । 
 
उनी भन्छन्, ‘अहिले कोरोना संक्रमण घट्दै गइरहेको र जनजीवन पनि सामान्य बन्दै गएको छ । सरकारले सिनेमा हल खोल्न अनुमति दिइसकेकाले अब हामी फिल्म प्रदर्शनको तयारीमा लागेका छौ । चलचित्र बिकास बोर्ड, हल सञ्चालक, वितरक सबैको साथ भएमा फिल्म क्षेत्र चलायमान बनाउन हामी अघि बढ्न तयार छौं । सम्भवतः केही दिनमै फिल्मको प्रदर्शन मिति तय हुनेछ ।’
 
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव पन्त, रिमा विश्वकर्मा, जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल, अनुष्का अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा सन्तोष पन्तको कथा र निर्माण छ । निर्देशक साकार सन्तोष पन्तका छोरा हुन् ।
 
रवि सायमीले खिचेको फिल्ममा सन्दीप किस्नाको पटकथा छ । फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त, सह-निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । फिल्मको ‘माया जदौ’ गीत युट्युवमा २ करोड ४० लाख पटक हेरिसकिएको छ । पूर्व घोषित मितिमा प्रदर्शन हुन पाएको भए यो गीतले फिल्मको व्यापारमा ठूलो सघाउ पुर्‍याउन सक्ने थियो ।
Most Visited News (monthly)