
इनकम ट्याक्स विभागको टिम बुधवार अचानक अभिनेता सोनू सूदको मुम्बई अफिसमा पुग्यो । आयकर विभागको जाँचपछि भारतीय सञ्चार माध्यममा उनको सम्पत्तिको बारेमा चर्चा सुरु भएको छ । बलिउड फिल्मको हिरो हुन ५५ सय रुपैयाँ लिएर मुम्बई छिरेका उनी आज करीब १ सय ३० करोडका मालिक बनिसकेका छन् । अहिले उनी एक फिल्मका लागि २ करोड बुझ्ने गर्दछन् ।
पत्नी र बच्चासँग मुम्बईमा बस्ने गरेका सोनूले बलिउडसँगै तेलुगु, तमिल, कन्नड र पञ्जाबी गरी ७० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । ब्रान्ड इन्डोर्समेन्ट उनको आम्दानीको मुख्य स्रोत हो । उनको एक प्रोडक्सन हाउस पनि छ, जसको नाम शक्ति सागर प्रोडक्शन हो । यो उनको पिताको नाममाथि छ । ब्रान्ड इन्डोर्समेन्ट र फिल्मबाट उनको वार्षिक १२ करोड कमाई हुने गर्छ ।
आफ्नो परिवारसँग अंधेरीको लोखन्डवालामा २६ सय स्क्वायर फुटको अपार्टमेन्टमा बस्ने गरेका सोनूसँग मुम्बईमा अर्को दुईवटा फ्ल्याट पनि छ । उनको गृहनगर मोगामा पनि एउटा आलिसान घर छ । उनले जुहूमा एक होटल समेत सञ्चालन गर्दै आएका छन्, जसलाई उनले अहिले आइसोलेशन बनाएका छन् । गाडीका पनि सौखिन रहेका उनीसँग मर्सिडीजसहित तीन कार छन् ।
इन्डिया टुडेको एक रिपोर्ट अनुसार, अहिले आयकर विभागले सोनू सूदको बैंक खातादेखि कमाई र सबै आर्थिक गतिविधिको जाँच गरिरहेको छ । साथै, उनीसँग जोडिएका संस्थाको पनि जाँच भइरहेको छ । कोरोनाकालमा उनले आर्थिक अवस्थाका कारण समस्यामा परेका मानिसको मद्दत गरेका थिए । सोनूले ‘सूद च्यारिटी फाउन्डेशन’ नामक एनजीओ पनि चलाउँदै आएका छन् ।

