Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एमसीसीको विपक्षमा करिश्मा !

फिल्मीखबर, काठमाडौं, 2021/09/14
 
अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना यतिबेला राजनीतिक तहदेखि सर्वसाधारणसम्ममा बहसको विषय बनेको छ । सत्तामा साझेदार राजनीतिक दलहरु राष्ट्रिय सहमति जुटाएर संशोधनसहित एमसीसी संसदबाट पारित गर्नुपर्ने पक्षमा छन् भने सत्ताभन्दा बाहिर रहेका केही राजनीतिक दलहरुले एमसीसी राष्ट्रघाती सम्झौता रहेको भन्दै दिनहुँ सडक तताएका छन् ।
 
नेपाली फिल्मकर्मीहरुले पनि यस विषयमा आफ्नो धारणा राखिरहेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै अभिनेता राजेश हमालले घुमाउरो शैलीमा जनतालाई स्वीकार हुन नसकेको एमसीसी सम्झौता लागू गर्न नहुने बताएका थिए । नागरिकको भावनामा ठेस पुर्‍याएर वा चित्त नबुझाई यसलाई लागू गरेमा त्यसले दूरगामी असर पार्ने हमालको भनाई छ । 
 
अभिनेत्री करिश्मा मानन्धर पनि एमसीसीको विपक्षमा उभिएकी छन् । एमसीसीले जनतालाई दुःख दिने आशय व्यक्त गर्दै उनले फेसबुकमा लेखेकी छन, ‘घरमा हात्ती ल्याएर घरका मान्छे बाहिर बस्नुपर्‍यो भने हात्ती ल्याउनु ठिक होला ? घरभित्र कलह हुने तत्व भित्र्याउनु ठिक होला ? अगुवाइ गर्नेहरुको विगतका निर्णयका परिणामले गर्दा नै जनतामा यो अविश्वास उब्जाएको होला नि त ।’
 
एमसीसीको बारेमा ठोकुवा गरेर जनतालाई बुझाउन आग्रह गर्दै करिश्माले जनताको विरोधमा गएर अगुवाइ गर्न नहुने बताएकी छन् । नेपाल र अमेरिकी सहयोग निकाय एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा ऊर्जा र सडक पूर्वाधार विकासका लागि पाँच सय मिलियन अमेरिकी डलरको सम्झौता भएको थियो  । हालै एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपाल समेत आएकी थिइन् ।
Most Visited News (monthly)